२१ आश्विन २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहकारीमार्फत दूध बेचेरै किसानले कमाए पाँच करोड

प्रकाशित मिति :  १ आश्विन २०७८, शुक्रबार ०४:४६


गलकोट । सहकारीमार्फत दूधको बजारीकरण गरी बागलुङका दुई पालिकाका किसानले एक वर्षमा  पाँच करोड रुपैयाँ रकम भित्र्याएका छन् । बागलुङ नगरपलिका र काठेखोला गाउँपालिकाका १४ दुग्ध सहकारीमा आवद्ध किसानले आर्थिक वर्ष २०७७/७८ मा दूध बिक्री गरेर  पाँच करोड १२ लाख २७ हजार रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

सहकारीमार्फत सङ्कलन, प्रशोधन र बजारीकरण गर्दा यहाँका किसान दीर्घकालीनरूपमा नै आम्दानी गर्न सफल भएका हुन् । दूध उत्पादन गर्न सके बजारीकरणको जिम्मा सहकारीले लिने भएकाले आफूजस्ता किसानलाई सहज भएको काठेखोला–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका उपाध्यक्ष तथा अगुवा कृषक बालानन्द कँडेलले बताउनुभयो ।

चौधवटा सहकारीमा किसानले ल्याएको दूधलाई पुनः एकमुष्ट सङ्कलन, प्रशोधन तथा बजारीकरणको काम गर्दै आएको बागलुङ बजारस्थित बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले एक आवमा मात्रै किसानबाट रु पाँच करोड बढीको दूध खरिद गरेर बिक्री वितरण गरेको सहकारीका अध्यक्ष दीपक गौतमले बताउनुभयो ।

‘किसानले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो, दूधलाई तापक्रम मिलाएर राख्नुपर्ने तथा दूध बिग्रेर खेर जाने समस्याका कारण किसानले दूध उत्पादनका लागि ठूलो लगानी गर्न नसकेको अवस्था थियो’, अध्यक्ष गौतमले भन्नुभयो, ‘किसान बिचौलियाको मारमा समेत पर्नाले धरासायी बन्ने अवस्थाको अन्त्य गर्न सहकारीमार्फत दूध सङ्कलन गरी सहकारीले नै घरघरमा पु¥याउने काम गर्दै आएको छ, अहिले सहकारीले किसानबाट सङ्कलन गरेको दुई हजार ५०० लिटर दूध दैनिक बिक्री भइरहेको छ, हामीले थोरै मुनाफा राखेर अरु रकम किसानलाई दिँदा किसानलाई दुग्ध व्यवसायप्रति उत्साह आएको छ ।’

दूधलाई एकत्रित गर्ने ताजा दूध बिक्री गर्ने, बिक्री गरेर बचेको दूधको दुग्धजन्य पदार्थ जस्तै घ्यू, नौनी, छुर्पी, लस्सी, पनिरलगायतका काम गर्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । उहाँका अनुसार सहकारीले आव २०७७/७८ मा मात्रै किसानलाई रु पाँच करोड बढी दूध खरिदवापतको रकम भुक्तानी दिएको र सहकारी सङ्घसमेत र ६० लाख  रुपैयाँ खुद बचत गर्न सफल भएको छ ।

काठमाडाैं निर्यात हुन्छ बागलुङको छुर्पी

बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमा झण्डै एक हजार ५०० किसानले धेरथोर दूध बजारीकरणका लागि पठाउँछन् । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको छ ।

त्यसमध्ये काठमाडौँ निर्यात हुने उत्पादन छुर्पी रहेको दुग्ध सहकारीका प्रबन्धक बैकुण्ठप्रसाद शर्माले जानकारी दिनुभयो । आव २०७७/७८ मा मात्रै रु २९ लाख ५५ हजारको दूधबाट बनेको परिकार छुर्पी बिक्री गरेको र अधिकांश छुर्पी काठमाडाैं निर्यात हुने उहाँको भनाइ छ । सहकारीले गत आवमा ४८ लाख ६६ हजार रुपैयाँको दही, २० लाख ४४ हजार रुपैयाँ को घ्यू,  २९ लाख १२ हजार रुपैयाँको पनिर,  एक लाख ८६ हजार रुपैायाँको नौनी,  एक लाख ९९ हजार रुपैयाँ को खुवा र आठ हजार ५६८ रुपैयाँ को लस्सी बिक्री गरेको छ । आफ्ना उत्पादनलाई बढाउँदै लैजाने र यस वर्ष रु ५० लाखको छुर्पी निर्यात गरी बागलुङलाई गुणस्तरीय छुर्पी उत्पादन हुने जिल्लाका रूपमा परिचय दिने सहकारी सङ्घको योजना रहेको अध्यक्ष गौतमले बताउनुभयो ।

अहिले छुर्पीलाई सहकारी सङ्घले प्रतिकिलो रु एक हजार २०० मा बिक्री गर्दै आएको छ । सहकारीमा आवद्ध किसानले सहकारीमा आवद्ध भएर दूधको बजारीकरण गर्दा दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएको बताएका छन् । सहकारी सङ्घमा १५ कर्मचारीले सङ्कलन भएको दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गरेर सेवा प्रदान गर्दै आएका छन् । सहकारीको उपयुक्त मोडलका रूपमा दूग्ध सहकारी विकास भएको र बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घ देशकै नमूना दुग्ध उत्पादक सहकारी सङ्घका रूपमा स्थापित रहेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियानकर्मी रामबहादुर जिसीले जानकारी दिनुभयो ।

कृषक सदस्यले उत्पादन गर्ने, सहकारी संस्थाले सङ्कलन गर्ने र सहकारी सङ्घले दुध तथा प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री वितरण गरेर सहकारीको असल अभ्यास गरेको जिसीको भनाइ छ । ‘दैनिक एक हजार ५०० कृषकले आयआर्जन गर्ने अवस्था दुग्ध सहकारी सङ्घले गरेको छ, यसलाई थप व्यवस्थित गराउन सरोकारवालाले ध्यान दिनुपर्छ’, जिसीले भन्नुभयो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !