काठमाडौंमा चोरीका घटना बढेपछि अपराध अनुसन्धान कार्यालयको अप्रेसन, चोरीमा संलग्न पक्राउ
काठमाडौं । उपत्यकामा चोरीका घटना बढेपछि प्रहरीले सक्रियता बढाएको छ ।
चोरीका घटना नियन्त्रण तथा घटनामा संलग्नलाई कारबाही गर्न नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयले अप्रेसन सुरु गरेको छ ।
अप्रेसनको क्रममा गत बैशाख ७ गतेदेखि ९ गतेको बिचमा ललितपुर महानगरपालिका–२१ खोकना नवराज गुरुङको घरमा कोही नभएको समयमा सुन, चाँदीका गहना, नगद तथा आईफोन लगायतका धनमाल चोरीको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ गौश्वारा स्थायी घर भई भई ललितपुर महानगरपालिका–१५ खुमल्टार बस्ने ३७ वर्षको कमल थापा मगर र ३५ वर्षको धनलाल थापामगरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले जेठ ३ गते बरामद दसी सहित धनलाल थापामगरलाई ललितपुरको भैसेपाटीबाट र कमल थापा मगरलाई रामेछापको गौश्वाराबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिनुभयो ।
उहाँहरूलाई पक्राउ गरी अनुसन्धान गर्दा चोरी भएका धनमाल खरिद गर्ने सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ बतासे घर भई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–११ कपन बस्ने २८ वर्षका सुवास सुनार र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ शिखरपुर स्थायी घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ६ मूलपानीमा सुन चाँदी पसल सञ्चालन गरी बस्ने ४१ वर्षको रेसमलाई पक्राउ गरी बरामद सामानहरू सहित आवश्यक कारबाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको भट्टराईले बताउनुभयो ।
चोरी भएका मध्ये आईफोन मोबाइल किनबेच गर्ने काठमाडाैंको टोखा नगरपालिका–३ स्थायी घर भई काठमाडौंको न्यूरोड ताम्राकार कम्प्लेक्स स्थित सेल फोन रेस्क्यु सेन्टरका संचालक ४१ वर्षीय योगेश डाँगी र सप्तरीको सुरुङ्गा–२ स्थायी घर भई काठमाडौंको कलंकीका २२ वर्षी मोहम्मद समीर माथि समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।