१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

प्रकाशित मिति :  २८ जेष्ठ २०८१, सोमबार ११:३५


हेटौँडा । सवारी दुर्घटनामा ज्यान गएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका–९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिइ मोटरसाइकलमा सवार हेटौँडा–८ निवासी निर्मला अधिकारीको ज्यान गएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन ।

प्रहरीलाई पटक–पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस २५ डीसी ०२१२ नम्बरको खाली ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ग७प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भएको दुर्घटनामा अधिकारीको ज्यान गएको थियो ।

घटनापछि आफूहरूले प्रहरीलाई पटक–पटक अनुरोध गर्दा पनि सवारीधनीलाई हेटौँडा नझिकाइएको भन्दै आफूहरूले बाध्य भएर राजमार्ग अवरोध गर्नु परेको मृतकका आफन्त सपना श्रेष्ठले जानकारी दिनुभयो ।

मृतक अधिकारीको श्रीमान गत १८ वर्षबाट सम्पर्कमा नरहेको र मृतकको एक छोरी मात्र रहेको कारण न्यायको लागि आफूहरू आन्दोलित हुनुपरेको उहाँको भनाइ छ ।

उहाँहरूले हेटौँडा–९ को औद्योगिक क्षेत्र अगाडि राजमार्ग अवरोध गरेका हुन् । उक्त क्षेत्रमा अहिले प्रहरी पुगेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !