उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो अलकनंदा नदीमा खस्यो, १४ जनाको गयाे ज्यान
काठमाडौं । भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खस्दा चालकसहित १४ जनाको ज्यान गएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार पर्यटकहरु चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएको थियो भने चार जनाको अस्पतालमा ज्यान गएको हो । अधिकारीहरुका अनुसार सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो । मृतकमध्ये अझै तीन जनाको सनाखत हुनै बाँकी छ ।
ज्यान गुमाउनेमा नोएडा, मथुरा, उत्तर प्रदेशको झाँसी, उत्तराखण्डको हल्द्वानी, मध्य प्रदेश, दिल्ली र हरियाणाका बासिन्दाहरु छन् । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले अस्पतालमा पुगेर घाइतेहरुको उपचारबारे बुझेका छन् भने स्वास्थ्यलाभको कामना समेत गरेका छन् । उहाँले घाइतेको उपचारमा कुनै कसुर नराख्न समेत निर्देशन दिनुभएकाे छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । दुर्घटनाबारे राष्ट्रपति द्रौपदी मुर्मुले समेत दुःख व्यक्त गरेकी छन् ।
उत्तराखण्डमा सडक दुर्घटनाका कारण वर्षेनि हजारौँको ज्यान जाने गरेको छ । सन् २०२२ मा मात्रै एक हजार ६ हजार ७४ दुर्घटनामा १ हजार ४२ जनाको ज्यान गएको थियो ।