१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी बढ्दै

प्रकाशित मिति :  ७ असार २०८१, शुक्रबार १२:४८


नेपालगन्ज । बाँकेमा वैदेशिक रोजगारीमा जानेलाई ठगी गर्नेविरुद्ध उजुरी गर्ने सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा सञ्चालित आप्रवासी स्रोत केन्द्रमा आर्थिक वर्ष २०७७/०७८ मा आठ उजुरी परेकामा आव २०८०/०८१ मा त्यो सङ्ख्या ४७ पुगेको सामी कार्यक्रम बाँकेका संयोजक कमलसिंह नेपालीले जानकारी दिनुभयो । यो कार्यक्रम यहाँका चार स्थानीय तहमा सञ्चालित छ ।

वैदेशिक रोजगारीमा जानेलाई एउटा काम भनेर अर्को काममा लगाउने, एउटा कम्पनी भनेर अर्को कम्पनीमा लैजाने र जानुपूर्व दिने भनिएको तलबभन्दा न्यून तलब दिने समस्या रहेको बताइएको छ । सामी कार्यक्रम सञ्चालन भएपछि स्थानीयमा चेतना जागृत भएको अवस्था छ, त्यही भएर उजुरीको सङ्ख्या बढेको छ, संयोजक नेपाललीले भन्नुभयो । कतिपय ठगीका उजुरीमा जिल्ला प्रशासनले पीडित र पीडकलाई बोलाएर क्षतिपूर्ति दिलाएर मिलापत्र गराउने र नमिलेमा वैदेशिक रोजगार विभाग पठाउने गरेको उहाँले बताउनुभयो ।

संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक वर्षमा १० हजार सात सय ३६ जना र कार्यक्रम सञ्चालन भएको चार वर्षमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएका छन् ।

सोही कार्यक्रमका सामाजिक परिचालन अधिकृत घनश्याम वलीले यहाँका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित वित्तीय साक्षरता कक्षा प्रभावकारी भएको बताउनुभयो । वैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले श्रम स्वीकृति लिइ दक्ष भएरमात्रै वैदेशिक रोजगारीमा जानु उचित हुने सल्लाह दिनुभयो ।

 

 

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !