१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

वीरगञ्जमा खानेपानीको अभाव हुन थालेपछि खानेपानीको लाइन जडान

प्रकाशित मिति :  १० असार २०८१, सोमबार ११:३५


वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा चापाकल सुकेर खानेपानीको चर्काे अभाव हुन थालेपछि सर्वसाधारणले खानेपानीको लाइन जडान गर्न थालेका छन् । चालु आर्थिक वर्षको साउनदेखि यही असार ६ गतेसम्मको अवधिमा मात्रै थप दुई हजार आठ सय १० घरधुरीले खानेपानी संस्थान शाखा कार्यालयबाट नयाँ धारा जडान गरेका हुन् । खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण प्रमुख सञ्जीवकुमार यादवले सर्वसाधारणको घरआँगन परिसरमा जोडेको चापाकल सुकेसँगै खानेपानी संस्थानको धारा जोड्नेक्रम ह्वात्तै बढेको जानकारी दिनुभयो । पहिला वीरगञ्जवासीले संस्थानको धारा जडानमा खासै रुचि देखाउँदैन्थे तर अहिले घरमा गाडिएको चापाकलमा पानी आउन छाडेसँगै अहिले संस्थानको धारा जडान गर्न भन्दै आउने गरेका छन्, उहाँले भन्नुभयो ।

वितरण प्रमुख यादवले गत आवको असार मसान्तसम्म संस्थानका खानेपानीका ग्राहक आठ हजार चार सय मात्रै रहेका थिए । तर यो हिउँदेयाममा चर्काे खडेरी लागेसँगै खानेपानी सस्थानको लाइन जोड्नेको सङ्ख्या बढिरहेको छ । विसं २०८१ असार ६ गतेसम्म संस्थानका खानेपानीका कूल ग्राहक सङ्ख्या ११ हजार दुई सय १० पुगेका छन् । संस्थानले वीरगञ्ज महानगरभित्र दुई सय ८५ सार्वजनिक धारामार्फत खानेपानी पनि उपलब्ध गराउँदै आइरहेको छ ।

प्वाल पारेर पानी चोरी

खानेपानी संस्थान शाखा कार्यालयले वीरगञ्जको छपकैयाँ क्षेत्रमा अवैध ढङ्गले खानेपानीको पाइपमा प्वाल पारेर खानेपानीको चुहावट भइरहेको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागेको छ । वीरगञ्जको छपकैयाँ क्षेत्रमा सर्वसाधारणले खानेपानीको पाइपलाई क्षति पुर्याएर खानेपानी चोरी गरिरहेका छन्, शाखा प्रबन्धक मन्दिप श्रेष्ठले भन्नुभयो, खानेपानीको चोरी नियन्त्रण गर्नका लागि आवश्यक सहयोग गरिदिन अनुरोध गर्दछु । सो क्षेत्रमा दुई सयभन्दा धेरै घरधुरीले खानेपानीको अबैध रुपमा प्रयोग गर्दै आइरहेका छन् ।

वितरण प्रमुख यादवले वीरगञ्ज महानगरवासीको चापाकल सुकेसँगै खानेपानी कार्यालयमा नयाँ धारा जडानका लागि आउनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो । चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकाले पनि खानेपानीकोसमस्या देखिएको हो, उहाँले भन्नुभयो । कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी नै हो । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्न सक्ने अवस्था छैन् ।

खानेपानी संस्थानसँग दैनिक एक करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ । सो क्षमतामध्ये अहिले वीरगञ्ज महानगर क्षेत्रमा एक करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ तर कूल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ ।

कार्यालयसँग साना/ठूला गरेर डेढ दर्जन खानेपानीका बोरिङ रहेका छन् । तीमध्ये ११ भूमिगतबाट पानी तान्ने ठूला प्रकृतिका बोरिङ रहेका छन् । कार्यालयसँग कम्तीमा पनि वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ । तर अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन । वितरण प्रमुख यादवले बजेट अभावकै कारणले चाहे जति खानेपानीको पाइपलाइन विस्तार गर्न नसकिरहेको बताउनुभयो ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !