संसद् पूर्णबहादुर घर्तीको सरकारलाई प्रश्नः अमेरिकी एयर फोर्सका सैनिक जहाज किन र के का लागि नेपाल आए ?
काठमाडौं । बारम्बार गुपचुप अमेरिकी एयर फोर्सका सैनिक जहाज नेपाल आउने क्रम जारी रहेपछि प्रतिनिधि सभाका सभासद् पूर्णबहादुर घर्तीले यो विषय संसद्मा उठाउनु भएको छ ।
अमेरिकी एयर फोर्सका सैनिक जहाज किन र के का लागि नेपाल आए भनेर उहाँले सरकारलाई प्रश्न गर्नुभएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सत्तारुढ माओवादी केन्द्रका सांसद् पूर्णबहादुर घर्तीले ०८१ वैशाख र यही असारमा अमेरिकी एयर फोर्सका जहाज नेपाल आएर फर्किएको विषय उठाउँदै सरकारको गम्भीर ध्यानाकर्षण समेत गराउनुभयो ।
नेपालको सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेको कुरा विज्ञहरुले बताइरहेका भन्दै उहाँले यी गतिविधिप्रति चिन्ता व्यक्त गर्नुभयो । ’शक्तिशाली राष्ट्रहरुको आफू महाशक्ति हुने होडबाजीमा भइरहेको शैन्य गठबन्धन र कमजोर राष्ट्रहरुमा विभिन्न बहानामा भइरहेको हस्तक्षेपको सन्दर्भमा नेपालको अस्थिर राजनीति र शक्ति राष्ट्रहरुको इन्ट्रेसका कारण नेपालको सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेको कुरा विभिन्न विज्ञहरुले व्यक्त गर्दै आइरहेका छन्’– सांसद् घर्तीले भन्नुभयो ।
गत वैशाख ६, ७, ८ र ९ तथा असार २ गते अमेरिकी एयर फोर्सका सैनिक जहाज नेपालमा किन र के का लागि आए भन्ने प्रश्न उहाँले सरकारलाई गर्नुभयो । ’यसै सन्दर्भमा गत वैशाख ६, ७, ८ र ९ गतेसम्म अमेरिकी एयर फोर्सका ५ वटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे, असार २ गते पनि मलेसियाबाट सोही एयरफोर्सको जहाज साँझ आएर बिहान फर्कियो, ती जहाजमा के सामान आयो ? कसका लागि ल्याइयो ? सामान्य हो भने प्राइभेट जहाजमा आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ? यसबारे सञ्चारमाध्यममा कुरा आएन, यस्तो गम्भीर विषयमा सरकार र संसद्को ध्यानाकर्षण गराउँछु’– सांसद् घर्तीले भन्नुभयो ।
उहाँले संसद्का कर्मचारीको न्यायोचित माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।