१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मनसुन सुरु भएपछि विपदबाट ३३ जिल्ला प्रभावित, हालसम्म २८ जनाको गयाे ज्यान 

प्रकाशित मिति :  १३ असार २०८१, बिहीबार १२:१०


काठमाडौँ । मनसुन भित्रिएपछि गत जेठ २८ देखि यही असार १२ गतेसम्ममा विपद्बाट ३३ जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, सिन्धुपाल्चोक, रसुवा, चितवन, लमजुङ, पर्वत, म्याग्दी, नवलपरासीपूर्व, गुल्मी दाङ, बाजुरा, कास्कीलगायत जिल्ला बढी प्रभावित भएका हुन् । यस अवधिमा कूल १४७ विपद्का घटना भएको र ती घटनाहरुमा परेर २८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

जसमा बाढीबाट एक, पहिरोबाट १४ र चट्याङबाट १३ जनाको ज्यान गएको मन्त्रालयले सार्वजनिक गरेको छ । पहिरोबाट यो बीचमा १४ जनाको निधन र १२ जना घाइते भएका छन् । पहिरोका कारण २५ घर पूर्ण क्षति भएको छ । १० वटा घर आंशिक क्षति भएको छ । पहिरोबाट मात्रै अनुमानित ६९ लाखभन्दा बढीको आर्थिक क्षति भएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जानकारी गराएको छ । यस्तै मनसुनका समयमा बाढीबाट एक जनाको निधन र दुई जना घाइते भएका छन् ।

चट्याङबाट क्षति

सो अवधिमा चट्याङबाट ६८ वटा घटना भएको र ती घटनामा परी १३ जनाको ज्यान गएको छ । चट्याङबाट २४ जना घाइते भएका छन् भने १७ लाख बढीको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईका अनुसार पछिल्लो विपदजन्य घटना ९असार ११ र १२ गते०को अवधिमामात्रै १८ जनाको ज्यान गएको छ । जसमा नौजना चट्याङबाट र नौजना बाढीपहिरोमा परेर ज्यान गएको उहाँले बताउनुभयो ।

 

 

–रासस

 

­­­


0
Shares

प्रतिक्रिया दिनुहोस !