१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

कुतियाकवरवासीलाई सेनाको ‘सुरक्षित घर’

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १७:१०


महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा–चादँनी नगरपालिका–१० कुतियाकवरकी अम्बिका सुनारलाई बर्सेनि बाढीको त्रास रहन्थ्यो । कुतियाकवर महाकाली र जोगबुढा नदी तटीय क्षेत्रको वस्ती हो । त्यसैले ६७ वर्षीया सुनारलाई वर्षायाम सुरु भएपछि सधैँ बाढीको त्रास रहन्छ । तर यसपाली नेपाली सेनाले यहाँ सेफ हाउस (सुरक्षित घर) निर्माण गरेपछि सुनारलगायत स्थानीय ४२ परिवार बाढीको जोखिमबाट जोगिने भएका छन् ।
कुतियाकवरको दक्षिण र उत्तरतर्फ महाकाली र जोगबुढा नदी रहेको छ । महाकाली र जोगबुढाको दोसाधमा पर्ने उक्त वस्तीका बासिन्दाले गत वर्षसम्म वर्खामा ओमकार प्राविमा आश्रय लिने गरेका थिए । विगत वर्षमा बाढी आउँदा विद्यालयमा बास बस्ने गथ्र्यौँ, धनमाल र गाइवस्तु सबै बाढीले बगाउँथ्यो, सुनारले भन्नुभयो–यसपाली नेपाली सेनाले वस्तीमै सेफ हाउस बनाइदिएपछि त्रास हटेको छ ।
करिब तीन महिना लगाएर सेनाले कुतियाकवरमा दुई तले सुरक्षित घर बनाएको हो । सेनाले उक्त सुरक्षित घर आज  दोधारा–चादँनी नगरपालिकालाई हस्तान्तरण गरेको हो । सुरक्षित घर बनेपछि कुतियाकवरका ४२ परिवार बाढीको बेला बाँचिने भयो भन्दै खुसी भएका छन् ।
नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकले सेनाको  शीघ्र प्रभावी परियोजना अन्तर्गत यहाँ सुरक्षित घर निर्माण गरेको हो । नेपाली सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथि गणेशकुमार श्रेष्ठले सुरक्षित घरको उद्घाटन गर्नुका साथै साँचो दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूलाई हस्तान्तरण गर्नुभयो । भवन हस्तान्तरणपछि पृतनापति उपरथी श्रेष्ठले सुरक्षित घरको सदुपयोगसँगै मर्मत सम्भारमा ध्यान दिन नगरपालिकालाई आग्रह गर्नुभयो ।
बाढीका बेला ज्यान जोगाउन सुरक्षित घरको धेरै महत्व हुन्छ, उहाँले भन्नुभयो–भविष्यमा पनि यस्तै प्रभावकारी कार्यक्रम सेनाले सञ्चालन गर्दै जानेछ । उपरथी श्रेष्ठले तटीय क्षेत्रको बस्तीलाई प्राथमिकतामा राखेर सेनाले सुरक्षित घर निर्माण गरेको बताउनुभयो ।
सेनाले सुरक्षित घर बनाइदिएपछि २०३९ सालदेखि बाढीको जोखिम मोलेर बस्दै आएका कुतियाकवरवासी खुसी भएका छन् । स्थानीय खड्के बुढाले भन्नुभयो–बाढीका कारण धेरैले ज्यान गुमाएका छन्, सुरक्षित घरले मानवीय क्षति हुनबाट जोगिने आश छ । बाढीका काण खेतीयोग्य जग्गा मासिदै गएको उहाँले बताउनुभयो । यसको दीर्घकालीन रुपमा समाधान हुने गरी सरकारले कटान नियन्त्रणको पहल गरिदिनुपर्ने बुढाको माग छ ।
बाढीले बस्तीको २०औँ बिघा जमिन बगायो, उहाँले भन्नुभयो–वर्खामा सधैँ ज्यान जोगाउन अन्यत्र जानुपर्ने अवस्था थियो, अब त्यो हट्नेमा आशावादी छौँ ।
जोगबुढा नदीमा पुल नहुँदा वर्खामा विद्यार्थी विद्यालय आवतजावत गर्न मुस्किल हुने गरेको छ । बाढीका बेला महिनौँसम्म स्थानीयवासी घर छाडेर आफन्तकहाँ बस्नुपरेको थियो”, उहाँले भन्नुभयो–“सेनाद्वारा निर्मित सेफ हाउसले अब मान्छे मात्र होइन पशु र धनमाल जोगाउन पनि सहज हुने भयो ।
बयालीस परिवारको बसोबास रहेको कुतियाकवर भारतीय सिमानासँग जोडिएको बस्ती हो । यो बस्ती २०२२ सालमा बसेको हो । कुतियाकवरका टङ्कलाल जोशीले नेपाली सेनालाई सेफ हाउस बनाउन दश धुर जमिन निःशुल्क उपलब्ध गराउनुभएको हो । झण्डै ६० जना अटाउने क्षमताको उक्त सेफ हाउस निर्माणका क्रममा सेनालाई दोधारा चादँनी नगरपालिका र केही निर्माण व्यवसायीले सहयोग गरेका थिए । यहाँ दाृत निकाय र नगरपालिकाको आर्थिक सहयोगमा सेफ हाउस निर्माण सुरु गरिए पनि त्यो अझै पूरा हुनसकेको छैन् ।
दोधारा–चादँनी नगरपालिकाका नगरप्रमुख किशोरकुमार लिम्बूले २०७८ सालमा बाढी आउँदा कुतियाकवरवासीले रुखमा चढेर ज्यान जोगाएका विगत सुनाउनुभयो । भौगोलिक विकटताकाबीच सेनाले ढुङ्गामा सामान ल्याएर तीन महिनामै सेफ हाउस बनाएको हो, उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो– दातृ निकायले सुरु गरेको सेफ हाउस अझै अधुरै छ ।
कुतियाकवरवासीले बाढी, विपद्बाट लामो समय सास्ती खेप्नु परेको बताउँदै अहिले पुल, सडक पूर्वाधारसित जोडिदा केही सहज भने भएको बताउनुभयो । श्रीदल गुल्मका गुल्मपति सेनानी राजीवजङग ठकुरीले २५ लाखको लागतमा दुई तले सेफ हाउस निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो । सेनाको १५, नगरपालिकाबाट पाँच लाख र बाँकी निर्माण व्यवसायीलगायत स्थानीय सहयोगबाट भवन बनेको हो । उहाँले भन्नुभयो–बाढीलगायत विपद्का बेला उपयोगी हुने विश्वास लिएका छौंँ ।
कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी मनोज थापा, सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायत सुरक्षा निकायका प्रमुखको उपस्थिति रहेको थियो ।
–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !