१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब रुपौयाँ भन्दा बढीको सुन तस्करी

प्रकाशित मिति :  १७ असार २०८१, सोमबार १८:४१


काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब रुपैयाँ भन्दा बढी रकम बराबरको सुन तस्करी भएको बताएको छ ।

विस २०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ब्रेक सु’मा लुकाएर ल्याएको ६० किलो सत सय १६ ग्राम सुन तस्करीको अनुसन्धानका क्रममा विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत हालसम्म ३१ अर्ब ८२ करोड २२ लाख ९१ हजार दुई सय ७२ रुपैयाँ बराबरको सुन तस्करी भएको प्रहरीले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा सिआईबीका प्रमुख, एआईजी श्यामलाल ज्ञवालीले ६० किलोग्राम सुन तस्करीको अनुसन्धानका क्रममा थप २० जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

‘विभिन्न पाँचवटा नक्कली कम्पनीमार्फत इलेक्ट्रोनिक मालवस्तुमा लुकाई छिपाई दुई हजार ८३१ किलो ८९ ग्राम र ब्रेक सु मा लुकाएर ३६२ किलो ७७८ ग्राम सुन तस्करी भएको अनुसन्धानमा देखिएको छ’, ब्यूरो प्रमुख ज्ञवालीले भन्नुभयो ।

अवैध रुपमा भित्रिएका सुनको भुक्तानी प्रक्रियामा भने नेपालका दुईवटा पेमेन्ट गेट वे समेत सङ्लग्न रहेको खुल्न आएको छ । ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडका खातामा बचत गरी एजेन्टमार्फत अवैध सुनको भुक्तानी भएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी गराएको थियो ।

सिआईबीले उक्त प्रकरणमा ‘पे वेल’ नेपाल प्राइभेट लिमिटेड र सजिलो पेमेन्ट सर्भिस प्राइभेट लिमिटेडमा सङ्लग्न सञ्चालक समिति, कर्मचारी र एजेन्ट गरी आठ जनालाई पक्राउ समेत गरेको छ ।

ब्रेक सुमा लुकाएर ल्याएको सुनको परिमाण ३६२ किलोग्राम ७७८ ग्राम रहेको देखिएको भन्दै सीआईबीले विस २०८० भदौ ३१ गते २९ जनाउपर अभियोगपत्र दायर गरेको थियो । उनीहरुबाट रु तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपैयाँ मागदाबी गरिएको थियो ।

सीआईबीले पक्राउ गरेका २९ जनामध्ये २४ जना अभियुक्तहरू हाल पुर्पक्षका लागि थुनामा छन् । यस्तै, सोही सुन प्रकरणमा दोस्रो चरणमा २० जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकाविरुद्ध सङ्गठित अपराध, सुनको चोरीपैठारी र केहीलाई बैकिङ कसुरमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयमा पठाउने तयारी भइरहेको सिआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !