बाढी प्रभावित भन्छन्ः ‘अब हाम्रा दुःखका दिन सुरु भए’
प्रकाशित मिति : २० असार २०८१, बिहीबार १४:१०
भजनी (कैलाली) । जिल्लाको भजनी नगरपालिका–३ का सन्तराम चौधरी बर्खायाम सुरु भएसँगै चिन्तित हुनुहुन्छ । बर्सेनि काढा नदीको बाढीबाट महिनौँ दिनसम्म घरविहीन हुनुपर्ने बाध्यता सन्तरामका लागि अझै अन्त्य हुनसकेको छैन् ।
असोज लागेपछि बर्खाको पीडा कम हुँदै जाँदा असार सुरु भएपछि पुरानै भएर बल्झिएर आउँछ । त्यो पीडामा मल्हम लगाउने कोही छैन्, सन्तराम भन्नुहुन्छ, “बाढीबाट विस्थापित भएर सडकमा आउँदा चाउचाउ र चिउरा ल्याएर आउनेहरू त्यो बीचको समयमा कोही पुग्दैनन् । नदी नियन्त्रणका लागि नीति निर्माण बनाएर कार्यान्वयन गर्ने तहमा पुगेकाहरूको बेवास्ताका कारण बर्सेनि हामीलाई सास्ती हुँदै आएको छ ।
भजनीका शर्मिला चौधरीलाई पनि बर्खा सुरु भएपछि निकै चिन्ता हुन्छ । उहाँलाई आफ्नोभन्दा बढी चिन्ता बालबालिका र पशुचौपायाको हुने गरेको छ । “प्रायः रातिको समयमा आउने बाढीबाट बढी जोखिम हुन्छ । अँध्यारो रातमा बालबालिका, पशुचौपाया र घरका महत्त्वपूर्ण सरसामान कसले र कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता हुन्छ, शर्मिला भन्नुहुन्छ, जन्मिँदा त्यहीँ बाढीको जोखिममा जन्मेकी म अन्तिम श्वाससम्म पनि बाढीको चिन्ताले छोड्लाजस्तो लाग्दैन ।
बाढी र डुबानका कारण विस्थापित भएका नागरिकलाई राहतमा जुट्नुभन्दा सधैँका लागि बाढीको छुटकारा यहाँका स्थानीयले चाहेका क्षितिज चौधरी बताउनुहुन्छ । बर्खायाममा डुबानको जोखिम भएका क्षेत्र र बाढीको पानी निकास हुनेगरी स्थानीय सरकार र सङ्घ तथा प्रदेश सरकारले समन्वय गरेर जोखिम कम गर्न पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
राहत यसअघि पनि पाएका थियौँ, फेरी पाइन्छ । बाढीको दीर्घकालीन समाधान भएको हामीले कहिले देख्न पाउने ?, क्षितिज प्रश्न गर्नुहुन्छ, राहतबापत आएको चाउचाउ, चिउरा र एक बोतल पानीले एकपटकको भोक र प्यास मेटिन्छ तर हाम्रो दुःख मेटिनेगरी काम होस् भन्ने चाहना छ ।
भजनी–१ ठेङ्गरपुरका भलमन्सा राजु चौधरीको बुधबार आएको कान्द्रा नदीको बाढीले घरमा भएका सबै खाद्यान्न सामग्री नष्ट भएका छन् । एकाएक नदीमा आएको बाढी बस्तीमा पसेपछि स्थानीयले घरमा भएको खाद्यान्नसहित आवश्यक सामान सुरक्षित गर्न नसक्दा नष्ट भएको राजु बताउनुहुन्छ । खासै वर्षा भएको थिएन । एकाएक बाढी बस्तीमा पसेपछि धनमाल जोगाउन सकिएन, उहाँ भन्नुहुन्छ, आफ्नो आवासको व्यवस्थापन कता गर्ने, खाद्यान्नको व्यवस्थापन गर्ने भन्ने चिन्ता थपिएको छ ।
सोही ठाउँका कल्लु चौधरी कान्द्रा बर्सेनि दुःख बनेर आउने गरेको बताउनुहुन्छ । बर्खा बर्सेनि हाम्रा लागि दुःखको समय हो । कुनै वर्ष छैन होला घर छाडेर त्रिपालमा गएर बस्नु नपरेको, उहाँ भन्नुहुन्छ, स्थानीयको समस्या तिनै तहका सरकारलाई जानकारी हुँदा पनि दीर्घकालीन समस्या समाधानतर्फ ध्यान जान सकेको छैन । स्थानीय जनप्रतिनिधिले विशेष पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरी स्थानीय सरकारको स्रोतले यहाँका नागरिकलाई ओभानोमा राख्न सक्ने स्थिति नरहेको बताउनुहुन्छ । प्रदेश र सङ्घ सरकारसँग समस्या समाधानका लागि आग्रह गरिएको भन्दै हालसम्म भजनीको दुःखमा मल्हम लगाउन नसकेको उहाँ बताउनुहुन्छ ।
म आफैँ पनि बाढीबाट प्रभावित हुँदै आएको छु । यसवर्ष नगरपालिका क्षति कम गर्ने योजनाअनुसार पूर्वतयारीमा लागेको छ । यसमा प्रदेश र सङ्घ सरकारले सहकार्य र समन्वय गर्ने विश्वास लिएका छौँ, नगरप्रमुख चौधरी भन्नुहुन्छ । दीर्घकालीन रुपमा नदी नियन्त्रण नहुँदा बर्सेनिको बाढीले स्थानीयलाई सास्ती हुने गरेको छ ।
भजनी नगरपालिकामा काढा, कान्द्रा र पथरैया नदीको बाढीले बर्सेनि हजारौँ नागरिक विस्थापित हुँदै आएका छन् । बाढीबाट प्रभावित नागरिकका लागि हुलाकी राजमार्ग आश्रयस्थल बन्दै आएको छ ।
-रासस
0
Shares