पूर्वका साना खोलामा बाढीको जोखिम
काठमाडाैँ। हाल मुलुकका पूर्वी भागका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ ।
सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । बूढीखोलामा पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो । उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । बाढी पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ ।
धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी २४ घण्टाको अवधिमा परिरहेको विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
विभागका प्रवक्ता सुनिल पोखरेलले आजका लागि खासगरी मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । आज पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौँ, उहाँले भन्नुभयो, बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ ।
प्रवक्ता पोखरेलले बाढीको जोखिम बढ्ने भए पनि आत्तिहाल्नुपर्ने खतरा भने नरहेको स्पष्ट पर्नुभएको छ । मौसम पूर्वानुमान माहाशाखाले आज बिहान जारी गरेको विशेष बुलेटिनमा पनि देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जानकारी दिएको छ ।
ती क्षेत्रमा हुनसक्ने गेग्र्यान बहाव, बाढीपहिरोबाट बच्न तथा ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन प्रवक्ता पोखरेलले अनुरोध गर्नुभयो ।
–रासस