पर्साको सुपौलीमा इलाका प्रशासन कार्यालय
प्रकाशित मिति : ३ श्रावण २०८१, बिहीबार १३:११
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आफ्नो कार्यालयको सेवालाई जिराभवानी गाउँपालिका–४ स्थित सुपौलीमा इलाका प्रशासन कार्यालय विस्तार गर्ने भएको छ ।
कार्यालयको सेवाप्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय विस्तार गर्न लागिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आगामी भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउने गरी तयारी थालेको बताउनुभयो ।
कार्यालयको सेवाप्रवाहलाई जनतामैत्री बनाउनका लागि इलाका प्रशासन कार्यालय सुपौली सञ्चालनमा ल्याउन खोजेका हौँ, उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालयको भवन तयार भइसकेको छ । कार्यालय भवनको प्राविधिक मूल्याङ्कन भएर हस्तान्तरणको प्रक्रिया अघि बढिरहेको छ । सम्भवतः हामीले भदौको पहिलो साताभित्रै इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने गरी तयारीमा जुटेका छौँ ।
प्रमुख जिल्ला अधिकारी भुसालले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै पर्साका ग्रामीण भेगका जनता नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत सेवा लिनका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । “इलाका प्रशासन कार्यालयले पहिलो चरणमा जीराभवानी, जगरनाथपुर, धोबिनी र ठोरी गाउँपालिकाका जनतालाई सेवा प्रवाह गर्नेछ ।”
जिराभवानी गाउँपालिकाका–४ का स्थानीय रामप्रवेश सिसौरियाले इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै नागरिकता, राष्ट्रिय परिचयपत्रलगायत कागजात बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । “आफ्नै गाउँघरमा इलाका प्रशासन आउनु पक्कै पनि हाम्रो लागि सुखद खबर हो,” उहाँले भन्नुभयो, “वीरगञ्ज जानुपर्दा एकातर्फ समय र अर्काेतर्फ पैसाको पनि खर्च हँुदै आइरहेको थियो । यो सञ्चालनमा आएसँगै त्यो अप्ठेरोपनको अन्त्य हुने विश्वास लिएका छौँ ।” कार्यालय सञ्चालन भएसँगै यहाँका जनताको २७ किलोमिटर टाढाबाट वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ । इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको केही महिनाभित्रै राहदानी सेवा पनि थप गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
इलाका प्रशासन कार्यालयमा शाखा अधिकृतको नेतृत्वमा ६ जना कर्मचारी रहनेछ । नायब सुब्बा एक, खरिदार एक र दुईजना कम्प्युटर अपरेटर तथा एकजना कार्यालय सहयोगी रहनेछन् । इलाका प्रशासन भवन रु एक करोड पाँच लाख ९९ हजार लागतमा निर्माण भएको हो ।
–रासस
0
Shares