न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीले फेरि अवरोध गरेका छन् ।
शुक्रबार न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै उनीहरु सडक प्रर्दशनमा उत्रिएका हुन् ।
उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबार बिहानदेखि न्यूरोडमा फुटपाथको काम र कालोपत्रे भत्काउन सुरु गरेको थियो ।
तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै विरोध प्रर्दशन गरेका हुन् ।
‘सयौं वर्ष पुरानो हो । यो त एउटा ईतिहास भइसकेको कुरा जनताले सरकारलाई कर तिरेर त्यहाँ बनाईसकेको घरलाई दखल गर्न पाईदैन्’, एक स्थानियले भने ।
यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो ।
स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।
फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर काटेको कालोपत्रे पनि टालेको थियो ।