१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

इलाका प्रशासन कार्यालय पुनःस्थापना

प्रकाशित मिति :  ५ श्रावण २०८१, शनिबार १६:०७


खजुरा (बाँके) । तत्कालीन सशस्त्र द्वन्द्वका कारण विस्थापित भएको बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा इलाका प्रशासन कार्यालय २१ वर्षपछि पुनःस्थापना भएको छ । गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भएपछि स–साना प्रशासनिक कामका लागि ४५ किलोमिटर टाढा नेपालगञ्ज जानुपर्ने सो क्षेत्रका बासिन्दाको बाध्यता अन्त्य भएको हो ।
लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कृष्णा केसीले इलाका प्रशासन कार्यालयको नरैनापुरमा उद्घाटन गरेसँगै कार्यालयले सेवा दिन सुरु गरिसकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले जानकारी दिनुभयो । उहाँका अनुसार २१ वर्षदेखि नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट सञ्चालन हुँदै आएको सेवा अब स्थानीयस्तरबाट सुरु भएको छ । “इलाका प्रशासन स्थापना भएपछि विस्थापित नहुने गरी योजना बनाउन गृह प्रशासनसँग आग्रह गरेका छौँ, अब यो कार्यालय सधैँ यही सञ्चालन हुनेछ”, उहाँले भन्नुभयो ।
गृह मन्त्रालयसँगको लामो छलफलपछि दरबन्दी स्वीकृत भएको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । दरबन्दी स्वीकृत भएसँगै गाउँपालिकाले कृषि शाखाको भवन उपलब्ध गराएपछि इलाका प्रशासन कार्यालय स्थानान्तरण गरिएको जानकारी दिनुभयो ।
सशस्त्र द्वन्द्वकालको समयमा शान्तिा, सुरक्षाको कारण देखाउँदै इलाका प्रशासन कार्यालय नरैनापुरलाई नेपालगञ्ज सारिएको थियो । शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा पनि उक्त कार्यालय यहाँ स्थानान्तरण हुन सकेको थिएन् ।
उक्त कार्यालयमा हाल प्रशासकीय अधिकृत माधव सिंहको नेतृत्वमा तीनजना नायब सुब्बा र एकजना कम्प्युटर अपरेटरसहित दुईजना कार्यालय सहयोगीलाई पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !