२४ पुष २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अवैध तस्करी रोक्न भैरहवा भन्सार कार्यालय सक्रिय

प्रकाशित मिति :  ७ श्रावण २०८१, सोमबार १६:१८


भैरहवा (रुपन्देही) । खुल्ला सीमाका कारण सीमा क्षेत्रबाट दैनिकजसो अवैध सामान भित्रिन्छन् । बिना भन्सार सामान भित्रिँदा एकातर्फ राजस्व असुली प्रभावित भइरहेको छ भने स्वदेशी व्यापारी मर्कामा परिरहेका छन् ।
सीमा क्षेत्रबाट हुने अवैध तस्करी रोकी राजस्व चुहावट नियन्त्रण गर्न र वैध आयात–निर्यातलाई प्रोत्साहन गर्न पछिल्लो समय भैरहवा भन्सार कार्यालयले सक्रियता बढाएको छ ।
गत जेठ २९ मा भन्सार कार्यालयले लु १ च ४७९२ नं को पिकअप गाडी नियन्त्रणमा लियो । उक्त पिकअपमा अवैधरुपमा भित्र्याइएको १७ लाख बढीको बेल्ट, ब्रा र मोजा भेटियो । गाडीको मूल्य रु पाँच लाख कायम गरी सामान र गाडी जफत गरिएको कार्यालयका प्रमुख एवं भन्सार अधिकृत नारद गौतमले बताउनुभयो ।
उक्त गाडीका चालक अब्दुल अन्सारी अहिले थुनामा छन् । भन्सारले गत जेठ १ गते २४ टन अवैध प्याजसहित ना ५ ख ५२७१ नं को ट्रक नियन्त्रणमा लिएको थियो । नौ लाख ६० हजार बराबरको उक्त प्याज र १२ लाख ट्रकको मूल्य कायम गरेर जफत गरिएको उहाँले जानकारी दिनुभयो ।
ट्रकसँगै नियन्त्रणमा लिइएका सुरज कान्दु थुनामा छन् भने नारायण भुसाल धरौटीमा छुटेका छन् । अवैध पैठारी रोक्न भन्सारले गरेका यी दुई प्रतिनिधिमूलक घटना हुन् । पछिल्लो समय सेवा प्रवाहसँगै भन्सारमा खटिएको टोलीले तस्करी निणन्त्रणमा सक्रियता देखिएको छ ।
रातदिनको गस्ती र सूचनाको सुक्ष्म निगरानीले सानादेखि ठूला अवैध चोरी पैठारीकर्ता धमाधम नियन्त्रणमा आइरहेका भन्सार अधिकृत गौतमले बताउनुभयो । यो सफलताको पछाडि कार्यालयका सम्पूर्ण कर्मचारीको सामूहिक प्रयास रहेको उहाँको भनाइ छ ।
नेतृत्वको हिसाबले टिम परिचालन प्रभावकारी रुपमा गरिएको छ, गौतमले भन्नुभयो, बाँकी सबै सामूहिक प्रयासको नतिजा हो । उहाँले हेर्दा सानो परिमाणमा यस्ता अवैध निकासी पैठारीका काम देखिए पनि यसले राजस्व असुलीमा ठूलो असर गरिरहेको बताउनुभयो ।
राजस्व वृद्धि गर्ने स्म्भावनाबारे अध्ययन गर्दा यो पनि एउटा कारण रहेकाले यसको नियन्त्रणमा लागिएको गौतमले बताउनुभयो । भन्सारको तथ्याङ्क अनुसार पछिल्लो नौ महिनामा भन्सार छली गरी अवैध बाटोबाट भित्र्याइएका रु तीन करोड ५९ लाख बढीको सामान बरामद गरिएको छ ।
अवैध सामान ओसारपसारमा प्रयोग भएका ट्रक, मिनी ट्रक, पिकअप र कार गरी १६ सवारीसाधन नियन्त्रणमा लिइएको छ । यीमध्ये जफत गरिएका सवारीसाधनबाट रु एक करोड ८३ लाख ७५ हजार राज्यकोषमा जम्मा भएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सूचना र नियमित निगरानीले दर्जन गोदाममा छापा मारेर सामान, ढुवानीको साधन र मानिस नियन्त्रणमा लिइएको हो ।
अवैध पैठारीमा संलग्न सात जना थुनामा छन् भने पाँचजना फरार छन् । केही धरौटीमा छुटेका छन् । आर्थिक वर्ष २०८०/८१ मा भन्सारले आफ्नै सक्रियतामा ६० बढी मुद्दा दर्ता गरेको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
नियमित गस्तीसँगै धमाधम सामान र मानिस पक्राउ गर्न थालेपछि कयौँ तस्करहरु रुपन्देहीका नाकाबाट कारोबार गर्न छाडेर कपिलवस्तु र पश्चिम नवलपरासीतर्फ लागेका उहाँको दाबी छ । नियमित काम र जनशक्ति अभावले मुख्य तस्करसम्म पुग्न अझै नसकिएको उहाँले जानकारी दिनुभयो ।
पछिल्लो समय भन्सारले नियमित गस्ती र सूचनाको जानकारी लिन ‘क्विक रेस्पोन्स टिम’ नै बनाएर काम गरिरहेको छ । भन्सारले अवैध रुपमा भित्र्याइएका कपडा, चिनी, हार्डवेयर, सुर्ती, चुरोट, प्याज, स्टिम चामललगायत सामान सधैँजसो निणन्त्रणमा लिने गरिएको छ । भन्सारसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि सीमा क्षेत्रबाट करोडौँका सामान बरामद गरेका छन् । सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीको आँखा छलेर हुने तस्करी रोक्न गरिएको प्रयासले खस्किरहेको राजस्व वृद्धिमा टेवा पुर्‍याउने भन्सार कार्यालयले बताएको छ ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !