१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

डेङ्गु सङ्क्रमित बढेपछि ‘लार्भा खोज र नष्ट गर’अभियान

प्रकाशित मिति :  ८ श्रावण २०८१, मंगलवार १४:४०


मुग्लिन (चितवन) ।  डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिनुभयो ।

गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख देवकोटाले भन्नुभयो, गाउँपालिकाको सबै वडा र टोलहरुमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने छौँ ।

गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोमबार मात्रै सात जनामा डेङ्गुु सङ्क्रमण देखिएको छ । इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन् । बाँकी वडा नं ३ र ४ का तीन जनामा डेङ्गु सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्य अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु छन् । उहाँका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ । सङ्क्रमितहरुको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताउनुभयो । अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।

 

 

-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !