१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

लाइन काटिएका उद्योगमा बिजुली जोड्नुपर्नेमा जोड

प्रकाशित मिति :  23 July, 2024 3:57 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद पदम गिरीले बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकष्मिक समयमा उहाँले बिजुली नपाएर उद्योग बन्द भएका भन्दै प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल विद्युत् लाइन जोड्न आवश्यक भएको बताउनुभयो । एकातिर मुलुकमा उत्पादित बिजुलीले बजार नपाउने र अर्कातर्फ विद्युत् नपाएर उद्यमीले उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो समस्या तत्काल समाधान गर्नुपर्छ, उहाँले भन्नुभयो ।

त्यसअघि नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले आफ्नो छोराको शैक्षिक प्रमाणपत्रको समकक्षता कायम गर्न सांसद डा वीरेन्द्र महतोले घुस दिनुपरेको विषय गम्भीर भएकाले छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले नुवाकोट जिल्लामा बाढीपहिरोका कारण भएको भौतिक क्षतिको विवरण प्रस्तुत गर्दै थप जोखिम नहोस् भन्नेतर्फ सरकार संवेदनशील हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सनातन धर्मका विरुद्ध प्रचार गर्नेलाई कारबाहीको माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले दुई वटा बसको खोजीमा जुट्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आरक्षणको विषयमा तनावग्रस्त बङ्गलादेशमा नेपालीको अवस्थाबारे परराष्ट्र मन्त्रालयले सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो । उहाँले जानकी आँखा अस्पतालमा केही समययता दुई समूहबीचको द्वन्द्वले नियमित सेवा सञ्चालन प्रभावित भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

 

 

–रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !