१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

ओझेलमा १२ बण्ड १८ खण्डको रामारोसन ताल

प्रकाशित मिति :  ९ श्रावण २०८१, बुधबार १६:४६


मान्म (कालिकोट) । अछाम जिल्लाको रामारोसन गाउँपालिका–५ मा रहेको रामारोसन ताललाई १२ बण्ड १८ खण्ड ताल भनेर चिनिन्छ । अछामको पूर्वीउत्तर र कालीकोटको पश्चिम क्षेत्रमा पर्ने रामारोसन क्षेत्र समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा पर्दछ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको अछामको रामारोशन क्षेत्रमा १२ ताल र १८ वटा खण्ड छन् । तीमध्ये संरक्षणको अभावमा १० वटा सुकिसकेका छन् ।
यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र मानिएको उक्त तालको आवश्यक संरक्षण, संवर्द्धन र उचित प्रचारप्रसारको अभावमा ओझेलमा परेको रामारोसन–५ अमर साउदले बताउनुभयो । साना ठुला गरी १२ ताल र १८ पाटन खण्ड छन्, उहाँले भन्नुभयोे, यो क्षेत्र १२ बण्ड, १८ खण्डका नामले पनि चिनिन्छ । संरक्षण नहुँदा यहाँका ताल सुक्दै गएका छन् ।
यहाँका प्रमुख तालमा जिगल्ले, बाटुल्ला, लामिदह, लिस्सेडाली, ताउले, तल्लो धउने, माथिल्ला धउने, गाग्रे, डउठेखाल, दल्याना, रामे र गेराहा रहेका वडाध्यक्ष केशरबहादुर शाहले बताउनुभयो । उहाँका अनुसार तल्लो धउने, माथिल्लो धउने र लिस्सेडाली सुक्दै गइरहेका छन् ।
तालहरुको संरक्षण हुन नसक्दा ताल पुरिन थालेका छन्, वडाध्यक्ष शाहले भन्नुभयो,अहिले पर्यटन पूर्वाधार विकासका काम भइरहेकाले तालको पनि संरक्षणमा जोड दिएका छौँ ।
अछाम जिल्लाको उत्तरमा अवस्थित रामारोशन क्षेत्र प्रकृति प्रेमीका लागि सुन्दर र रमणीय रहेको भन्दै कालीकोटबाट रामारोसन जोड्ने पर्यटकीय सडक निर्माण भइरहेको कालीकोट नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताउनुभयो ।
रामारोसन र बडिमालिकालाई पर्यटकीय क्षेत्र जोड्ने सडक निर्माण गरिरहेका छौँ, उहाँले भन्नुभयो, यो क्षेत्र पर्यटनको दृष्टिकोणले प्रचुर सम्भावना बोकेको छ । यहाँका पचाल झरना बडिमालिका, रारातालसँग पर्यटन मार्ग बनाउन लागेका छौँ ।
बाह्र तालमध्ये रामे, लामोदय, ताउल्या, जिङगल्या, गाग्रा र १८ खण्डमध्ये किनीमिन्नी मैदान फाँट र रामारोशन मैदान फाँट अन्यभन्दा आकर्षित र मनमोहक रहेका रामारोसन–५ का खड्क रोकायाले बताउनुभयो ।
उत्तरी खण्डको चट्टानी पहाडले झन आकर्षक छ । घना जङ्गलले भरिएको यस क्षेत्रमा डाँफे, मुनाल, कालिजलगायत चराचुरुङगी, कस्तुरी बाघ, भालु, मृगलगायत वन्यजन्तु, पाँचऔँले, पदमचाल जस्ता महत्वपूर्ण जडीबुटी पाइन्छन्, उहाँले भन्नुभयो । रोकायाका अनुसार गर्मीको समयमा तराईबाट गर्मी छल्न रामारोशन क्षेत्र आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।
अहिले रामारोसन ताल छेउमा केही होटेल व्यवसाय सञ्चालन भइरहेकाले विगतको भन्दा बढी पर्यटक आउने गरेका गाउँपालिकाका पूर्वउपाध्यक्ष सरस्वती रावलले बताउनुभयो । आन्तरिक पर्यटक केही मात्रामा आउने गरेका छन्, उहाँले भन्नुभयो, अझैँ पनि बाह्य पर्यटक ल्याउन सकिएको छैन । यसको प्रवर्द्धन गर्न सके पश्चिम नेपालकै पर्यटकीय गतिविधि बढ्दै जाने थियो ।
-रासस


0
Shares

प्रतिक्रिया दिनुहोस !