२२ भाद्र २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

जोखिमपूर्ण अवस्थाबाट पाइलटको उद्धार गर्ने प्रहरी पुरस्कृत

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १२:०६


काठमाडौँ । यही साउन ९ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरको विमान दुर्घटनापछिको जोखिमपूर्ण अवस्थाबाट विमान चालकलाई सकुशल उद्धार गर्ने छजना प्रहरी कर्मचारी पुरस्कृत भएका छन् ।
प्रहरी प्रधान कार्यालयले उक्त जोखिमपूर्ण अवस्थामा पाइलट मनीषरत्न शाक्यलाई सकुशल उद्धार गर्न सफल प्रहरी कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी नायब उपरीक्षक सुकेदेव खनाल र टङ्क राउत तथा प्रहरी जवान श्रीराम परियार, करणसिंह चाइसिर, भीमप्रसाद गौतम र कृष्ण जोशीलाई पुरस्कृत गरिएको हो ।
साउन ९ गते बिहान ११ बजेर १३ मिनेटको समयमा काठमाडौँबाट पोखरा जान लागेको उक्त विमान उड्ने वित्तिकै खसेर दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट शाक्यबाहेक सबै १८ जनाको ज्यान गएको थियो । निधन हुने सौर्य एयरका कर्मचारी, इन्जिनियर तथा उनीहरुका आफन्त रहेका प्रहरीले जनाएको छ ।
-रासस


678
Shares

प्रतिक्रिया दिनुहोस !