२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सर्पदंशका बिरामीको निःशुल्क उपचार गरिने

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १३:०६


महोत्तरी । यहाँको बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ । बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गर्नुभयो ।
नगरक्षेत्रमा हुने सर्पदंशका बिरामीको उपचार अब निःशुल्क हुन्छ, नगरप्रमुख क्षत्रीले भन्नुभयो, केन्द्रमा सर्पदंश उपचारका लागि विशेषज्ञसहितका सुविधा सम्पन्न पूर्वाधार बनाइनेछ । सोही अवसरमा क्षत्रीले केन्द्रलाई भवन अपुग देखिएको हुँदा थप दुईकोठे भवन तत्काल निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
बर्दिबास नगरक्षेत्र ‘सर्पको खानी’ का रुपमा चिनिन्छ । खासगरी करेत र गोमन जस्ता विषालु सर्पको बसेराले यो क्षेत्र सर्पदंशको अति प्रभावित क्षेत्र हो । सर्पले डसेपछि उपचारका पर्याप्त साधन नहुँदा गम्भीर बिरामीलाई अन्यत्रका सर्पदंश उपचार केन्द्रमा पठाउने गरिएको छ । यो अवस्था अन्त्य गर्न केन्द्रलाई साधन सम्पन्न बनाएर निःशुल्क उपचार गर्नेे घोषणाले नगरवासीले राहत महसुस गरेका छन् ।
सर्पको बिगबिगी भएको यस ठाउँमा विसं २०७१ साउन ३१ गते सर्पदंश उपचार केन्द्रको स्थापना भएको थियो । केन्द्रमा सर्पदंशको उपचारमा दक्ष नेपाली सेनाका छ जनाको जनशक्तिले सेवा दिँदै आएको छ । अब केन्द्रमा थप साधनसहित विशेषज्ञको प्रबन्ध गरिने र बिरामीको निःशुल्क उपचार हुँदा नगरवासी लाभान्वित हुने सर्पदंश उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष कृष्ण देवकोटा बताउनुहुन्छ । बर्दिबास नगरक्षेत्रका ७५ हजार जनसङ्ख्या उपचार केन्द्रमार्फत् प्रत्यक्ष लाभान्वित हुने देवकोटाको भनाइ छ ।
यसअघि बर्दिबास–३ को वडाकार्यालयले वडाबासीका लागि सर्पदंशको निःशुल्क उपचारको प्रबन्ध गत असारदेखि सुरु गरेको थियो । वडा कार्यालयले केन्द्रको मागअनुसार औषधि र सेवाशुल्कवापत रकम दिँदै आएको छ । केन्द्रमा बर्दिबास नगरक्षेत्रबाहेक गौशाला, भङ्गाहा, औरही, शरामगोपालपुर, सोनमा र सीमा जोडिएका धनुषा, सर्लाही र सिन्धुलीका सर्पदंशका बिरामी उपचारका लागि आउने गर्छन् ।
-रासस


226
Shares

प्रतिक्रिया दिनुहोस !