२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

चारवर्षमा पनि पुनःस्थापित भएनन् पहिरो पीडित

प्रकाशित मिति :  ११ श्रावण २०८१, शुक्रबार १३:४८


सङ्खुवासभा (किमाथाङ्का) । यहाँको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाको पहिरोबाट विस्थापित ५५ परिवारको घर निर्माण रोकिएको छ । विसं २०७७ असार २८ गतेको पहिरोले सिलिचोङ–१ बेसिन्दाका ९७ परिवार विस्थापित भएका थिए । पहिरोबाट विस्थापित बेसिन्दाका ५५ परिवारको खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा घर निर्माण थालिए पनि गत माघदेखि निर्माण रोकिएको हो । घर निर्माण हुन नसक्दा पहिरो पीडित अझै पालमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् ।
समयमा घर निर्माण हुन नसक्दा विस्थापितको चार वर्षसम्म पुनःस्थापना हुनसकेको छैन् । जिल्ला विपद् ब्यवस्थापन समितिको खातामा रकम प्राप्त नभएपछि गत माघबाट घर निर्माण रोकिएको खाँदबारी नगरपालिका–७ का कार्यवाहक वडाध्यक्ष झलक कुसुलेले बताउनुभयो । सरकारले घर निर्माणका लागि उपलब्ध गराउने रु पाँच लाख रकम जिल्ला विपद् ब्यवस्थापन समितिलाई प्राप्त नहुँदा  घर निर्माण रोकिएको कार्यवाहक वडाध्यक्ष कुसुलेको भनाइ छ । उहाँका अनुसार ५५ घरमध्ये २५ घरको ५० प्रतिशत बढी काम सकिएको छ । अन्य घरको २५ प्रतिशत काम भएको छ । पहिरोबाट विस्थापित भएको दुई वर्षपछि पहिरो पीडितको घर निर्माण थालिएको थियो । घर निर्माण रोकिएपछि अस्थायी टहरामा बस्दै पीडित परिवार थप पीडामा परेका हुन् । पीडितका लागि सङ्घीय सरकारले ६०, प्रदेश सरकारले ३० र स्थानीय सरकारले १० प्रतिशत बजेट उपलब्ध गराउने निर्णय भएको थियो ।
पहिरो पीडितको आवास निर्माणका लागि रु पाँच लाख ५० तोकिएको थियो । उक्त रकम प्राविधिकको मुल्याङ्कनअनुसार तीन किस्तामा भुक्तानी गरिने सम्झौता भएपनि हालसम्म ५० हजार रुपैयाँ मात्र भुत्तानी पाएको पीडितको भनाइ छ । भैरे डाडाँमा ५५ परिवारका लागि ६९ रोपनी जग्गा एक करोड ३० लाखमा खरिद गरिएको थियो ।  पहिरोबाट विस्थापित ९७ परिवारमध्ये २५ घर चित्रे, १२ घर बखल्टुमटार र ५५ घर खाँदबारीमा अस्थायी टहरामा बसिरहेका छन् । पहिरो पीडितका लागि चित्रेमा ५१ दशमलब पाँच रोपनी ७० लाख र बखल्टुममा १७ दशमलब पाँच रोपनीे ३४ लाखमा खरिद गरी संयुक्त रुपमा रजिस्ट्रेशन पास गरिएको छ । यहाँका नौ घर पहिरोले बगाउँदा ११ जना बेपत्ता भएका थिए ।
-रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !