घोराही–रक्षाचौर सडक ३५ वर्षदेखि अधुरो
प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार १४:३१
तुलसीपुर (दाङ) । जिल्लाको मुख्य बजार घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडकका रुपमा रहेको घोराही–रक्षाचौर खण्ड निर्माण सुरु भएको ३५ वर्ष भइसकेको छ । विसं २०४५ देखि उक्त सडक निर्माण सुरु भए पनि हालसम्म पूर्णता पाउन सकेको छैन् ।
करिब २१ किलोमिटर रहेको उक्त सडकको हालसम्म १० किमी मात्रै कालोपत्र भएको छ । सडकको ट्रयाक खोलिएको करिब ३५ वर्ष बितिसक्दा पनि स्तरोन्नति नहुँदा घोराही–तुलसीपुर यातायातमा कठिनाइ हुँदै आएको स्थानीयको भनाइ छ ।
सडक कालोपत्र गर्न पटकपटक सरोकार भएका निकायमा दबाब दिँदै आए पनि सुनुवाइ नभएको तुलसीपुर–४ का दोलकबहादुर खत्रीले बताउनुभयो । सडक सम्पन्न भएको अवस्थामा आवतजावतमा सहजता हुने थियो । यो क्षेत्र कृषि उत्पादनका हिसाबले राम्रो मानिन्छ, उहाँले भन्नुभयो सडक स्तरोन्नति भएमा यस क्षेत्रमा उत्पादित तरकारीलगायत सामग्री घोराही बार लगेर बिक्री गर्न सहज हुने थियो ।
सडक धेरै पहिला नै ट्रयाक खोलिएको हो । समयमा स्तरोन्नति नहुँदा कतै पुनःनयाँ ट्रयाक बनाउनुपर्ने स्थित छ भने कतै नाली बनाउनुपर्ने अवस्था छ, तुलसीपुर–४ का वडाध्यक्ष तुलसी थापाले भन्नुभयो । करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको बताउँदै उहाँले बाँकी ११ किमीअन्तर्गत कतिपय स्थानमा नयाँ ट्रयाक र नाली बनाउनुपर्ने अवस्था रहेको जानकारी दिनुभयो ।
सडक निर्माणका लागि आफूले पटकपटक प्रदेश र सङ्घ सरकारलाई दबाब दिइरहेको वडाध्यक्ष थापाले बताउनुभयो । घोराही, हापुर, निघुवार, अक्कासी, सङ्क्राम हुँदै रक्षाचौर जोड्ने सडकको ट्रयाक खोल्नेकाम पुरा भएपनि स्तरवृद्धि नहुँदा स्थानीयलाई सास्ती हुने गरेको छ ।
घोराही–रक्षाचौर खण्डको कौवाखोली–कल्लेखोलासम्मको सडक स्तरोन्नति हुन सकेको छैन् । उक्त सडकका लागि परेको बजेट कटौती हुँदै गएको छभने परेको बजेट पनि फ्रिज हुने गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । घोराही–तुलसीपुर जोड्ने वैकिल्पक सडक नहुँदा यात्रीले सास्ती भोग्नुपरेको स्थानीय बताउँछन् ।
-रासस
0
Shares