२३ भाद्र २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

फोहरबाट आम्दानी गर्ने योजना बनाउँदै व्यास नगरपालिका

प्रकाशित मिति :  १२ श्रावण २०८१, शनिबार १८:४९


तनहुँ । तनहुँको व्यास नगरपालिकाले खेर गइरहेको फोहर व्यवस्थापनबाट आम्दानी गर्ने योजना अघि बढाएको छ ।
पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको तयारी गरिएको जानकारी दिनुभयो । “यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएका थियौँ । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको छ, उहाँले भन्नुभयो, यसरी सङ्कलित फोहरको वर्गीकरण गरी बिक्री वितरणको योजना बनाएका छौँ । त्यसका लागि ट्रष्ट निर्माण र व्यवस्थित वर्गीकरणका लागि आवश्यक मेसिन खरिदको काम भइरहेको छ ।
नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर सङ्कलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । यहाँ पूर्वनिर्धारित स्थलमा फोहर विसर्जनका लागि भएको सम्झौता अवधि सकिएपछि यही साउन १ गतेदेखि दमौली बजारलगायत आसपासका क्षेत्रबाट नकुहिने फोहर सङ्कलनमा समस्या भइरहेको छ । कुहिने फोहर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ ।
प्रमुख प्रशासकीय अधिकृत काशिराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गर्ने योजना बनाइएको जानकारी दिनुभयो । यसबाट मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ । यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण गरिने गैरेले बताउनुभयो ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले हालसम्म फोहर व्यवस्थापनका लागि लाखौँ रकम खर्च गरिरहेको नगरले अब त्यसैबाट आम्दानी गर्ने गरी काम गर्ने बताउनुभयो । हामीले सिसाका बोतल खरिद गर्न प्रस्ताव माग गरिसकेका छौँ । सबै किसिमका वस्तु बिक्रीका लागि आवश्यक तयारी भइरहेको छ”, उहाँले भन्नुभयो,“सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरलाई आम्दानीको स्रोतका रूपमा अगाडि बढाउने छ । सोहीअनुसार आवश्यक काम भइरहेका छन् ।
–रासस


339
Shares

प्रतिक्रिया दिनुहोस !