२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशका बनिसकेका संरचनालाई सञ्चालनमा ल्याइहाल्नु पर्ने : प्रधानमन्त्री केपी ओली

प्रकाशित मिति :  १५ श्रावण २०८१, मंगलवार १७:२६


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका बनिसकेका संरचनालाई सञ्चालनमा ल्याइहाल्नु पर्ने बताउनुभएको छ ।

मंगलबार नेपाल सरकारका संघीय मन्त्री तथा सचिवहरूलाई निर्देशन दिँदै ओलीले तयार भइसकेका ठुला संरचना सञ्चालन गर्ने ल्याकत स्थानीय तहसँग नभएकोले केन्द्र सरकारले नै आवश्यक काम गरी सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो ।

झापामा बनिसकेको व्यवसायीक टावर सञ्चालनको लागि समेत त्यहाँको नगरपालिकाले ल्याकत नराखेको ओली बताउनुभयो । तयारी गरिसकेको संरचनालाई के गर्ने भनेर स्थानीय सरका बसेको ओलीले टिप्पणी गर्नुभयो । बनिसकेका संरचना व्यवसायीक रूपमा भाडामा लगाउन सकिने उहाँले बताउनुभयो । भाडामा बस्न माग गर्ने पनि आएका भए पनि कसले गर्ने, के गरी गर्ने भनेर स्थानीय तह अलमलिएका ओलीले सुनाउनुभयो ।

पोखरा विमानस्थल पनि लेउ लगाउन र झ्याउ उमार्न नबनाएको उहाँले स्पष्ट पार्नुभयो । कसैले राम्रो गरेको भए पनि, गल्ती नै गरेको भए पनि अरबौँ रुपैँयाका आयोजनाहरू त्यतिकै सडाएर फाल्न नसकिने ओलीले स्पष्ट पार्नुभयो । ‘त्यो त चलाउनु त पर्‍यो नि, त्यत्रो पैसा खर्च गरेर बनाएको छ’, ओलीले भन्नुभयो ।

जहाँ जे गर्नु परे पनि, सुधार गर्नु परे पनि, संवाद गर्नुपरे पनि गरेर निर्माण भएका संरचना सञ्चालनमा ल्याउनु पर्ने ओलीले बताउनुभयो । यसको लागि काम थालिहाल्न उहाँले निर्देशन दिनुभयो ।

धरहरा पनि सर्वसाधारणको लागि खुल्ला गरिहाल्नु पर्नेमा ओलीले जोड दिनुभयो । ‘धरहरा बनेको छ, मन्छे चढ्न चाहन्छन् तर चढ्न पाएका छैनन्’, उहाँले भन्नुभयो ।

धरहरामा पार्किङ बनेको र तयार हुन भने बाँकी रहेको ओलीले सुनाउनुभयो । पार्किङको काम नै पुरा नभई काठमाडौं महानगरपालिकाले निःशुल्क पार्किङ भनेर ह्वार्र छाडिदिएको भन्दै ओलीले असन्तुष्टि जनाउनभयो ।

सबै ठाउँमा पार्किङ गर्दा सामान्य शुल्क लाग्ने बताउँदै ओलीले गाडी चढ्ने मान्छेले पार्किङ शुल्क पनि तिर्न सक्दैन भन्ने कुरा हुन नसक्ने ओलीले बताउनुभयो । सर्वसाधारणले तिरेको पैसाबाट बनेको धरहरा बनेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । केही समय भित्रै नागरिकबाट ३६ करोड रुपैँया उठेको उहाँले सम्झाउनुभयो । ‘हामीले त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

धरहराको लिफ्टलाई खिया लगाएर राख्न नमिल्ने बताउँदै ओलीले त्यसको लागि आवश्यक कार्यविधि बनाएर सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो । तागत हुने सिँढीबाट र बालक र वृद्धहरू लिफ्टबाट धरहरा चढ्ने उहाँले प्रष्ट पार्नुभयो । ‘धरहराको टुप्पोबाट देखिएको काठमाडौं निक्कै मनमोहक देखिन्छ’, ओलीले भन्नुभयो ।

धरहराको पार्किङ कुनै पालिका विशेषको नभएको बताउँदै ओलीले त्यसको बाँकी काम पुरा गरेर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले हरेक मन्त्रालयलाई एक सय दिनको कार्ययोजना बनाएर काम गर्न आग्रह गर्नुभयो । हरेक मन्त्रालयले एक सय दिनमा गरेको कामको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने उहाँले निर्देशन दिनुभयो । त्यो प्रतिवेदन आकर्षक र उत्साहजनक हुने ओलीले प्रष्ट पार्नुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !