१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुलीको चियाबारीमा बोलेरो दुर्घटना, वडा सदस्य सहित तीनजनाको गयो ज्यान

प्रकाशित मिति :  ३१ श्रावण २०८१, बिहीबार १५:५२


काठमाडौं । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी नजिक बिहीबार भएको बोलेरो दुर्घटनामा परि तीन जनाको ज्यान गएको छ ।

दुर्घटनामा परी दुई जनाको घटनास्थलमा नै र एक जनाको सिन्धुली अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । सो दुर्घटनामा परी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का वडा सदस्य ४५ वर्षीय उदय लुङ्गेली मगर र सोही ठाउँका ४२ वर्षीय पृथ्वी भुजेलको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । त्यस्तै गोलञ्जोर गाउँपालिका–६ का ३५ वर्षीय पवन मस्र्याङगीको उपचारको क्रममा ज्यान गएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । पाँच जनाको अवस्था मध्यम र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

बोलेरो चालक ३२ वर्षीय टीकाजंग राई र ३७ वर्षीय हिमाल परियारको अवस्था गम्भीर रहेकाले सिन्धुली अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । अन्य घाइतेको सिन्धुली अस्पतालमा नै उपचार भइरहेको छ ।

गोलञ्जोर गाउँपालिका ६ नाकाजोलीबाट तरकारी सहित यात्रु लिएर सिन्धुलीमाढी जाँदैगरेको वा २० च ८२८३ नम्बरको बोलेरो अनियन्त्रित भई सडकमा नै पल्टिएको थियो । गाडीमा १४ जना सवार रहेका थिए ।


0
Shares

प्रतिक्रिया दिनुहोस !