३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खेलाडीको माग अनुसारको अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउछाैं-प्रधानमन्त्री केपी शर्मा ओली

प्रकाशित मिति :  ३ भाद्र २०८१, सोमबार १५:२८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समय र खेलाडीको माग अनुसारको अन्तराष्ट्रिय स्तरको कभर्डहल बनाउने बताउनुभएको छ ।

सोमबार बिहान राष्ट्रिय महिला भलिबल टिमसँग छलफल गर्दै ओलीले मागअनुसारको अन्तराष्ट्रियस्तरको कभर्ड हल बनाउने सङ्कल्प गर्नुभयो । ‘तपाईँहरूलाई थाहा छ सरकारको ढुकुटीमा धेरै रकम छैन तर हामी गर्नै पर्ने कामहरू गर्नेछौँ’, ओलीले भन्नुभयो ।

ओलीले नेपालले आगामी भलिबल खेल जित्ने पनि दाबी गर्नुभयो । ‘आगामी खेलमा जित्छौँ जुन तपाईँहरूको मनोबल छ, त्यो साकार होस्’, ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले खेल खेल्ने भनेकै जित्नका लागि भएको बताउँदै त्यसका लागि राम्रो ध्यान दिएर जित्छु भन्ने आशा बोकेर लाग्नु पर्ने बताउनुभयो । ‘सफलता पक्कै मिल्नेछ’, उहाँले भन्नुभयो ।

 

प्रधानमन्त्री ओलीले गत महिना नेपालमा रहेका रसियाली महिला भलिबल खेलाडीले आफूसँगको भेटमा नेपाली टिमको प्रशंसा गरेको स्मरण गर्दै विश्वस्तरका खेलाडीबाट भएको प्रशंसाभित्र नेपाली टिमको सम्भावना लुकेको बताउनुभयो । ओलीले दुई साता अघि सम्पन्न ‘काभा वुमन्स नेसन्स भलिबल प्रतियोगिता’ हेर्न आफूले चाहे पनि मन्त्रिपरिषद्को आकस्मिक बैठकका कारण जान नसकेको जानकारी गराउनुभयो ।

खेलाडीको प्रगति, चाहना र मागबारे आफू जानकार रहेको पनि उहाँले प्रष्ट पार्नुभयो । ओलीले प्रतियोगिताका उपविजेता खेलाडीलाई नेपाल सरकारले जनही रु तीन लाख दिने निर्णय गरेको जानकारी गराउनुभएको थियो ।

बिहानीका करिब दुुई घण्टा खेलाडीसँग बिताउनुभएका ओलीले उहाँहरूसँग खाजा खानुभएको थियो । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच नेपालले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलमा सो टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्द, खेलाडी लगायत सहभागी हुनुहुन्थ्यो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !