बाढी पहिरोले क्षति पुर्याएका खाँडादेवी गाउँपालिका अधिकांश ग्रामीण सडक मर्मत गरी सञ्चालनका
रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका वर्षाले बिगारेका अधिकांश ग्रामीण सडक मर्मत पछि सञ्चालनमा आएका छन् ।
साउन महिनामा परेको लगातार वर्षाको कारण सो गाउँपालिकाका अधिकांश ग्रामीण सडक बिग्रिएका थिए । ग्रामीण सडक अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा समस्या भएको थियो ।
खाँडादेवी गाउँपालिका–१ राकाथुम अन्तर्गत पर्ने खैरेनी–राकाथुम–गाल्पा सडकमा ठाउँ ठाउँमा गएको पहिरो हटाइएको वडाध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । साथै खैरेनी–कोथबे–मानेडाँडा सडकमा पनि पहिरो हटाएर सहजै गाडी ओहोरदोहोर हुने बनाइएको श्रेष्ठले जानकारी दिनुभयो । गाउँमा पहिरोले अवरुद्ध बनाएका सबै सडक सञ्चालनमा आएका बताउँदै श्रेष्ठले काहीँ अवरोध भए खबर गर्न आग्रह गर्नुभयो ।
यसैगरी वडा नं २ मझुवामा पनि अवरुद्ध भएका प्रमुख सडकहरू मर्मत गरी सञ्चालनमा ल्याइएको छ । जेसीबी लगाएर सडकहरू सफा गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष केशव प्रधानले जानकारी दिनुभयो । वर्षाको कारण अवरुद्ध भएको सित्खा–निगालपानी–कुरन्थली–मझुवा सडक सञ्चालनमा ल्याइएको प्रधानले बताउनुभयो ।
त्यस्तै वडा नं ३ का पनि बाढी पहिरोले क्षति पुर्याएका सडकहरू मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष पुष्करकुमार कार्कीले जानकारी दिनुभयो । बाढी पहिरोको कारण अवरुद्ध सित्खा–आँपचौर–रायगाउँ–गाल्पा सडक, भिरपानी–मझुवा सडक, आँपचौर–गोगनपानी लगायतका मुख्य सडकहरू मर्मत गरी सञ्चालनमा ल्याइएको कार्कीले बताउनुभयो ।
यसैगरी वडा नं ४ पकरबासका विभिन्न बस्तीमा जाने तथा त्रिवेणी नर्वदेशवर महादेव मन्दिर जाने सडक मर्मत गरी सञ्चालनमा ल्याइएको वडा सदस्य भीमबहादुर बस्नेतले जानकारी दिनुभयो । सो वडामा भटौली खोलाले क्षति पुर्याएको माडी मुहानको कुलो लगायतका कुलाहरू समेत मर्मत गरेर सञ्चालन गरिएको बस्नेतले बताउनुभयो ।
वडा नं ५ पकरबासका पनि क्षति भएका सबै सडकहरू मर्मत गरी सञ्चालनमा ल्याइएको वडाध्यक्ष मनोज पौडेलले जानकारी दिनुभयो । सो वडाका ग्रामीण सडकहरू जेसीबी लगाएर सफा गरिएको पौडेलले बताउनुभयो । ‘अब ५ नं वडाका सबै सडकमा यातायात साधन सञ्चालन हुन सक्छन्’, पौडेलले भन्नुभयो ।
यससैगरी वडा नं ६, ७, ८ र ९ का पनि ठाउँ ठाउँमा अवरुद्ध भएका मुख्य सडकहरूमा पहिरो पन्छाएर यातायात साधन सञ्चालन हुन सक्ने बनाइएको छ । यस वर्ष साउनमा आएको बाढीले सो गाउँपालिकाका अधिकांश ग्रामीण सडकमा क्षति पुर्याएको थियो ।