८ मंसिर २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

धमिनी सहकारी संकटग्रस्त : ७ हजार २ सय जनाको १८ करोड बचत अझै जोखिममा

प्रकाशित मिति :  १२ भाद्र २०८१, बुधबार १६:५६


गोलबजार ६ का ७५ वर्षिय असर्फी महतोले पेन्सन वापत पाएको रकम महिनैपिच्छे धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गराए । उहाँले जम्मा गरेको बचत लगभग २५ लाख छ । तर रकम झिक्न जाँदा सहकारीले चेक फिर्ता पठाउँछ ।

विगत एक वर्षले वृद्ध महतो दर्जनौ पटक सहकारीमा रकम माग्न गए । तर कुनै सुनुवाई भएन । ५० लाख बचत जम्मा गर्ने रामबाबु ठाकुरको पनि हविगत उस्तै छ । बचत माग्न जाँदा जाँदा खुट्टा खिइने अवस्था आयो तर धमिनी सहकारीले बचत फिर्ता दिन सकेन् । यस्ता दुख पाउनेहरु हजारौं छन् । धमिनी सहकारीले बचत रकम फिर्ता नदिंदा कसैको छोरीको विवाह समेतर सार्नु परेको दुखेसो सुनिन्छ ।

गोलबजारमा विगत १८ वर्ष अघि स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्था संकटग्रस्त अवस्थामा पुगेको छ । बचतकर्ताहरुको बचत फिर्ता दिन सकेको छैन । दैनिक रुपमा संकलन हुने ५ लाख निक्षेप संकलन पनि बन्द भएको छ । लगाएको ऋणको सावा र व्याज असुल उपर हुन सकेको छैन । ७ हजार दुई सय बचतकर्ताहरुको करिव १८ करोड बचत रकम जोखिममा परेको छ ।

धमिनी सहकारीको आरोह यात्रा

२०६३ सालमा स्थापना भएको धमिनी बचत तथा ऋण सहकारी संस्थाले एक दशकमै प्रगति पथमा ठूलो फड्को मारेको थियो । गोलबजारका ३१ जना लब्धप्रतिष्ठित व्यापारीहरु मिलेर २५ हजार शेयर पूजी राखेर खोलिएको यो सहकारीमा स्थानीयले निकै विश्वास गरेका थिए । गोलबजारका माथवर व्यक्तित्व देवनाथ साह अध्यक्ष थिए । राधेश्याम अग्रवाल, कमल जैन, राम प्रसाद साह ,राजेस्वर साह र मागिराम अग्रवाल जस्ता कुशल र सफल व्यापारीहरु पनि सञ्चालक समितिमा आवद्ध थिए ।

नेपाल बैंक लिमिटेडबाट अवकास प्राप्त द्वय रामबहादुर कार्की मैनेजर र तथा केशव प्रसाद शर्मा खजाञ्ची बनाइएका थिए । स्थानीय जनताले बैंकमा पैसा जम्मा नगरी यो सहकारीमा जम्मा गर्थे । दैनिक ५ लाख जति निक्षेप संकलन हुन्थ्यो ।

एक दशकमा ७ हजार २ सय बचतकर्ताहरु बनाउन सफल यो सहकारी संस्थाले लगभग १८ करोड निक्षेप जम्मा गरेको थियो । सहकारीले ३७ करोड भन्दा अधिक ऋण लगानी पनि गरेको थियो । गोलबजार नगरपालिकाका उद्यमी , व्यापारी, किसान , मजदुर र पेसागत व्यक्तित्वहरुले यस सहकारीमा खाता खोलेका थिए । यो सहकारीले शेयर धनीहरुलाई एक पटक ९५ हजार र अर्को पटक २ लाख बोनस पनि उपलब्ध गराएको थियो । २५ हजारको शेयर पूजी वृद्धि भइ १४ लाख पु¥याइएको थियो ।

धमिनी सहकारीको अवरोह यात्रा

सफलताको शिखर चुम्दै स्थानीय स्तरमा विकास बैंक बन्ने तरखरमा रहेको सहकारी एकाएक संकटग्रस्त भएको छ । २०८० सालको सुरुवातबाटै यो सहकारी ओरालो लागेको लक्षणहरु देखा पर्न थाल्यो । बचत जम्माकर्ताहरु रकम माग्न जाँदा चेक फिर्ता गर्न थालियो । आर्थिक मन्दीका कारण नगद अभाव छ भनेर निक्षेपकर्ताहरुलाई फर्काउन थालियो । गरिब, किसान, मजदुर, साना व्यापारीहरु पटक पटक पैसा झिक्न गए तर सहकारीले चेक फर्काउन थाल्यो ।

समाजमा एक कान दुई कान मैदान भयो । सहकारी डुब्न लागेको हल्ला फैलियो । सहकारीका अध्यक्ष गोलबजार नगरपालिकाका पूर्व मेयर देवनाथ साहको घरमा बचतकर्ताहरुको भिड लाग्न थाल्यो । छोरीको विवाह छ , बिरामी उपचार गर्नु छ वा घरमा खाने खर्च सकियो भनेर अनुनय विनय गरेर बचत फिर्ता माग्न थालियो । कतिपय महिलाहरु बचत फिर्ता लिन रोइकराई गरेको पनि देखिन थाल्यो ।

क्रमश बचत फिर्ता माग्नेहरुले आक्रोस पोख्न थाले । बैंकका कर्मचारी तथा सञ्चालक समितिका सदस्यहरुलाई गालिगलौज गर्न थाले । बचत फिर्ता नदिए हात हालाहालको स्थिति निम्तिने धम्कीका भाषाहरु पनि सुनियो । परिस्थिति संगिन बन्दै गएपछि बैंक मैनेजर रामबहादुर कार्की उपचारको वहाना बनाएर काठमाडौंतिरै बस्न थाले । अध्यक्ष साहको घरमा दैनिक सैकडौ बचतकर्ताहरुले धर्ना नै दिन थाले । बैंकका कर्मचारी र खासगरी अध्यक्ष देवनाथ साह अझैपनि दैनिक तनाव झेल्दैछन् ।

व्यवस्थापन कमजोरी तथा बैंकिङ्ग कसुर

कुनै पनि संस्थाले नीति नियमको पालना गरेन भने त्यो बिग्रिन्छ भत्किन्छ । झन् वित्तीय संस्थाहरुले त कडा आर्थिक अनुशासन पालना गर्नुपर्छ । तर धमिनी सहकारीले कोभिड–१९ को लकडाउन पछि वित्तीय अनुशासन र आर्थिक नियमहरुको पालन गरेको देखिदैन । सर्वप्रथमतः २०६३ सालमा गठन भएको सञ्चालक समिति नै अहिलेसम्म कायम छ । एउटै नेतृत्वले लगातार १८ वर्ष सहकारी सञ्चालन गर्नु युक्तिसंगत मानिदैन । धमिनी सहकारीको सञ्चालक समिति नै अवैध भइसकेको छ । किनकि एक दशकदेखि साधारणसभा नै भएको छैन । सञ्चालक समितिमा रहेका पाँच जना सदस्यहरु राधेश्याम अग्रवाल , कमल जैन , मागिराम अग्रवाल , राजकुमार साह सुडी, गुरुदयाल साह र राजेन्द्र यादवको मृत्यु भइसकेको छ । मृत्यु भइसकेका सञ्चलक समिति सदस्यहरुले नै अझै पनि सहकारी सञ्चालन गरिरहेका छन् ।

सञ्चालक समितिका सदस्य राम प्रसाद साह भन्छन्, ४ वर्ष देखि धमिनी सहकारी संस्थाको लेखापरीक्षण नै भएको छैन । लेखापरीक्षण नहुनुको अर्थ हो नेपाल सरकारलाई तिर्नु पर्ने कर पनि तिरिएको छैन । ५० करोडको कारोवार गर्ने सहकारीको ४ वर्षसम्म लेखापरीक्षण नहुनु र कर नतिर्नु सिधै बैंकिङ्ग कसुर हो । चरम लापर्वाही र नियत नै खराव हो । लेखापरीक्षण गर्न नसकिने , साधारण सभा गर्न नसकिने , नेतृत्व अनुमोदन हुन नसक्ने र कर तिर्न नसकिने त्यस्तो कुनै परिस्थिति आइपरेको होइन र छैन । कुनै पनि वाहानामा लेखापरीक्षण नगर्नु आर्थिक अपराध हो ।

सुरुवातमा विधान अनुसार ६–६ महिनामा साधारण सभा गरिन्थ्यो । सञ्चालक समितिको बैठक हुन्थ्यो । आय व्यय र आइपरेका समस्याहरु बारे छलफल हुन्थ्यो । आर्थिक योजनाहरु बन्थ्यो । तर त्यो क्रम ५ वर्षसम्म मात्र रह्यो । त्यसपछि दुई व्यक्ति अध्यक्ष देवनाथ साह र मैनेजर राम बहादुर कार्की सर्वेसर्वा भए । बैठक राख्न छोडियो । साधारण सदस्य र सञ्चालक समितिका अन्य सदस्यहरुलाई सोधिखोजी गर्न छोडियो । सहकारीमा एउटा ऋण समिति थियो । ऋण लगानी गर्नु पूर्व ऋण समितिले फाइल अध्ययन गरेर स्वीकृति दिनु पथ्र्यो । तर पछि ऋण समितिलाई सोध्नै छोडियो । कसलाई कहिले , कति ऋण दिने र कसलाई नदिने सारा निर्णय अध्यक्ष र मैनेजरले स्वविवेकमा गर्न थाले । पछिल्लो ५ वर्षमा सहकारीलाई धराशायी बनाइयो ।

सञ्चालक समिति , शेयर धनी र नातागोतालाई नियम मिचेर कर्जा प्रवाह

धमिनी सहकारीका अध्यक्ष देवनाथ साहले स्वयं नीयम मिचेर ठूलो धनरासी कर्जा लिएका छन् । बजारमा फैलिएको हल्ला अनुसार उनले ११ करोडको हाराहारीमा ऋण लिएका छन् । यो ऋण उनले आफ्नो नाममा र नातागोताको नाममा झिकेका छन् । स्वयं अध्यक्ष साहले पनि ५ करोड ऋण लिएको स्वीकार गरेका छन् । त्यसैगरी मैनेजर कार्कीले पनि ५ करोडको हाराहारीमा आफू र सालाको नाममा ऋण लिएका छन् । उनले पनि आफूले ऋण लिएको स्वीकार गरेका छन् ।

मैनेजर कार्कीले आफन्त र प्रियजनहरुलाई पनि अस्वभाविक मात्रामा ऋण प्रवाह गरेका छन् । त्यसैगरी ३१ मध्ये २६ जना शेयर धनीहरुले नीयम मिचेर ऋण लिएका छन् । अन्यको नाममा ऋण झिकेर पनि अध्यक्ष र मैनेजरले चलाएका छन् ।

ऋण समितिका सदस्य राम प्रसाद साह भन्छन् , ऋण समितिलाई निस्तेज पारेर अध्यक्ष र मैनेजरको स्वविवेकमा विजनेस प्लान नहेरी ऋण दिइएको छ । तिर्न सक्ने हो कि होइन , जोखिम विश्लेषण नगरी मुख हेरेर ऋण प्रवाह गरिएको छ ।

धितो पर्याप्त नराखी ऋण दिइएको छ । ऋण फछ्र्यौट नगरी मैनेजरले आफन्त र प्रियजनहरुको धितो फुकुवा गरिदिएका छन् । ऋणीले ऋण नतिरी धितो वापतको जग्गा बिक्री गरिसकेका छन् ।

बजारमा फैलिएको अपुष्ट सूचना अनुसार सुन धितो नै नराखी सुन धितो देखाएर ऋण झिकिएको छ । सहकारीले सुन चाँदी कारोवार गर्ने नीयम नै छैन । सुन चाँदीमा ऋण प्रवाह गर्न ( बन्धकी राख्न ) राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्छ । तर धमिनी सहकारीले सुन चाँदी कारोवार गर्ने इजाजत लिएको छैन । राम प्रसाद साह भन्छन् अन्ध्यारो घरमा सर्प छ कि भ्यागुता कसरी थाहा पाउनु ? न अडिट रिपोर्ट हेर्न पाएको छ न ऋण बचतको फाँटबारी । जे छ देवनाथ साह र रामबहादुर कार्कीलाई थाहा छ । यता मैनेजर कार्कीले सुन धितो राखेर ऋण प्रवाह गरेको कुरा सत्य होइन भनेका छन् । धेरैजसो ऋण प्रवाहमा कमिसनको ठूलो चलखेल भएको छ । अध्यक्ष देवनाथ साहले सानो कागजको चिर्कटोमा ऋण दिनु भनेर लेखिपठाएको भरमा ऋण प्रवाह भएको छ । मैनेजर कार्कीले कसैलाई नसोधी आफ्नै तजविजी अधिकार प्रयोग गरी ऋण प्रवाह गरेका छन् ।

ऋण लिने अध्यक्ष , मैनेजर र शेयर धनीहरुले नै समयमा व्याज र किसता तिरेका छैनन् । कतिपय ऋणको भाखा नाघेको छ । तर ऋण असुलीतर्फ कुनै कदम चालिएको छैन । प्राय शेयर सदस्यहरु सबैले बैंकिङ्ग नियम मिचेको कारण तै चुप मै चुपको अवस्था छ ।

दिवंगत खजाञ्ची केशव शर्मा माथि दोष

२१ सौं शताव्दीको वित्तीय संस्था धमिनी सहकारी जहाँ वार्षिक ५० करोड भन्दा माथिको कारोवार छ त्यहाँ अहिलेसम्म रजिष्टर र ढड्डामा सारा लेखाप्रणाली राखिएको छ । जवकी दुनियाँका सारा वित्तीय संस्थाहरु कम्प्यूटर सफ्टवेयर प्रणालीमा सञ्चालित छन् । कथंकदाचित कुनै दिन विपद् ( डिजास्टर ) आइलाग्यो भने बचतकर्ताहरुको रेकर्ड नै स्वाहा हुनेछ । बैंकमा नेतृत्वकर्ताहरुको जीवन तलवितल प¥यो भने पनि बचत कोसँग फिर्ता माग्ने भन्ने समस्या हुनेछ ।

खातापाता कम्प्युटर प्रणालीमा नहुनु , राष्ट्र बैंकको निगरानी र अनुगमन नहुनु , वित्तीय नियम र अनुशासनको पालन नहुनुले यो सहकारीलाई अविच्छिन्न उत्तराधिकारवाला संस्था भन्न सकिदैन ।

कोभिड –१९ को कारण खजाञ्ची केशव शर्माको मृत्यु भयो । उनको मृत्युको ४ वर्ष पश्चात अहिले सहकारीका अध्यक्ष साह र मैनेजर कार्कीले दिवंगत शर्माले सहकारीमा घोटाला गरेकोले सहकारीको अवस्था खराव भएको आरोप लगाइरहेका छन् । तर शर्माका परिवारजनले उक्त आरोप निराधार रहेको बताएका छन् । स्थानीयहरु पनि भन्छन् खजाञ्ची शर्मा इमान्दार र स्वच्छ छविका व्यक्ति थिए । आफ्नो गल्ती ढाकछोप गर्न दिवंगत शर्मामाथि ४ वर्ष पछि दोष जाहेर गरेर हुँदैन ।

के छ वर्तमान अवस्था

धमिनी सहकारी बारे फरक फरक दावी बाहिर आएको छ । अध्यक्ष देवनाथ साह भन्छन् मैले २ करोड ५० लाख ऋण तिरिसके । अब १ करोड ५० लाख जति बाँकी छ , त्यो पनि चाडै तिर्छु । त्यसैगरी मैनेजर कार्की भन्छन् मैले पनि अधिकांश ऋण तिरिसके । अब थोरै बाँकी छ । चाडै तिर्छु । अध्यक्ष र साह र मैनेजर कार्कीको भनाइ अनुसार सहकारी घाटामा छैन । ऋणको सावा व्याज समयमा नउठेर समस्यामा परेको हो । सावा व्याज गरेर २७ करोड उठाउन बाँकी छ । जवकी बचत फिर्ता गर्नु पर्ने रकम ८ करोड मात्र बाँकी छ । तर सञ्चालक समितिबाट राजीनामा दिएका शेयर सदस्य राजेस्वर साह भन्छन् । लगभग १८ करोड बचत फिर्ता गर्न बाँकी छ । उनले भने हालै अध्यक्ष साह , मैनेजर कार्की र शेयर सदस्य माथवर यादवले तिरेको सावा व्याजबाट केही साना बचतकर्ताहरुको रकम फिर्ता गरिएको छ । जसको कारण तनाव केही मत्थर भएको छ । तर ठूल्ठूला बचत रकमहरु ज्यु का त्यु छ ।

अध्यक्ष देवनाथ साह भन्छन् सहकारीलाई संकटग्रस्त घोषणा गर्नुपर्ने अवस्था छैन । धेरै दायित्व बोझ कम गरिसकिएको छ । अहिले लेखापरीक्षण भइरहेको छ । लेखा परीक्षण सकिएपछि साधारण सभा गरेर सहकारीलाई लिकमा ल्याइने छ ।

कार्तिकबाट फेरि नयाँ आर्थिक कार्यक्रम सञ्चालन गरिने छ । तर शेयर सदस्य रामबहादुर राय भन्छन् अब सहनशक्ति भन्दा बढता भइसक्यो । अब हामी शेयर सदस्यहरुले नै पत्रकार सम्मेलन गरेर सहकारीको अवस्थाबारे छर्लङ्ग पार्न दबाव दिनेबेला भएको छ । उनले भने बचतकर्ताहरुको विश्वास गुम्यो । धमिनी सहकारीको साख पनि गुम्यो । निक्षेप संकलनमा ९० प्रतिशत कमी आएको छ । हामीले शेयर वापतको रकम त परै जाओस् जम्मा गरेको बचत पनि पाइरहेका छैनौ । वित्तीय संस्था तथा आर्थिक मामिलाका जानकारहरु भन्छन् धमिनी सहकारीको आर्थिक जोखिम ठूलो छ । ७ हजार दुई सय बचतकर्ताहरुको १८ करोड रकम डुब्न सक्छ । त्यसकारण बचतकर्ताहरुले कानूनी उपचारको बाटो खोज्नुपर्छ । राष्ट्र बैंकले तत्कालै हस्तक्षेप गरी धमिनी सहकारीलाई नियन्त्रणमा लिनुपर्छ ।

को हुन् देवनाथ साह ?

धमिनी सहकारीका अध्यक्ष देवनाथ साह गोलबजार नगरपालिकाका प्रतिष्ठित व्यक्तित्व हुन् । उनी गोलबजारका सर्वाधिक धनीमानी व्यक्तिहरुमा पर्छन् । उनी नेपाल कम्युनिष्ट पार्टी माओवादीमा आवद्ध छन् । उनका सहोदर भाइ विश्वनाथ साह नेकपा माओवादीका स्थायी समिति सदस्य छन् । सोही पार्टीबाट उम्मेदवार भएर उनी गोलबजार नगरपालिकाका पहिलो निर्वाचित मेयर पनि भए ।

गोलबजार उद्योग व्यापार संघका उनी संस्थापक अध्यक्ष पनि हुन् । गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्ष पदमा पनि उनी विगत २७ वर्षदेखि लगातार कायम छन् । गोलबजार स्थापना हुँदा संस्थापकहरु मध्ये एक रहेको देवनाथ साह बताउँछन् । २०६३ मा धमिनी बचत तथा ऋण सहकारी संस्था गठन हुँदा उनी नै अध्यक्ष भए र अद्यापि कायम छन् । सञ्चालक समितिका सदस्य रामप्रसाद साह भन्छन् , देवनाथ साहलाई सधै लाभको पद चाहिन्छ र एक पटक पद हत्याए पछि छोडदै नछोड्ने उनको चरित्र छ । उनले नेतृत्व गरेको संस्थाहरु सबै प्राय रुग्ण ( कमजोर ) छन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !