प्रधानमन्त्रीद्वारा मुख्यसचिव अर्याललाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिनुभएकाे छ ।
प्रधानमन्त्री ओली मुख्यसचिव अर्याललाई शुक्रबार सामाजिक सञ्जालमार्फत बधाई दिनुभएकाे हाे । उहाँले हरेक निकायलाई जवाफदेही बनाउनेगरी अघि बढ्न मुख्यसचिवलाई आग्रह गर्नुभएकाे छ ।
हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउन प्रधानमन्त्रीले सुझाउनुभएकाे छ ।
उहाँले नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्ने उल्लेख गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ – ‘नेपाल सरकारको मुख्य सचिव नियुक्त हुनु भएकोमा एकनारायण अर्याललाई बधाई । नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्छ. सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ, सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो, हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ-आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।’
देशलाई सफल बनाउन कर्मचारी प्रशासनकाे भूमिका ठूलाे हुने उल्लेख गर्दै उहाँले यस काममा मुख्यसचिवलाई सफलता मिलाेस् भन्ने कामना पनि गर्नुभएकाे छ । प्रधानमन्त्री ओलीले लेख्नुभएकाे छ – ‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ, हामीसँग सबै क्षेत्रका गरी करिब ४ लाख (निजामती, शिक्षक ,सुरक्षा ) राष्ट्र सेवक कर्मचारी छन्, कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ, यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु, सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्, राष्ट्रसेवाका लागि सफलता मिलोस् शुभकामना ।’
गृहमन्त्रालयका सचिव रहनुभएका अर्याललाई बिहीबार बसेकाे मन्त्रिपरिषद् बैठकले मुख्यसचिव नियुक्त गरेकाे थियाे ।