२ माघ २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति :  ३ आश्विन २०८१, बिहीबार ०९:४५


काठमाडौं । आज असाेज ३ गते अर्थात संविधान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाउन लागिएकाे हाे ।

दिवसका अवसरमा देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघसंस्था लगायतले विभिन्न कार्यक्रम आयाेजना गर्दैछन् ।

संविधान दिवसकै खुशियालीमा नागरिकस्तरबाट काठमाडौंको दरबारमार्गमा राष्ट्रिय दिवस सांगीतिक प्रस्तुति हुनेछ । सरकारले संविधान दिवसका अवसरमा दिपावली मनाउन र राष्ट्रिय झण्डा फहराउन सबैमा आह्वान गरेको छ ।

०७२ असाेज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकाे दिन संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । सरकारले असाेज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउँदैछ ।

संविधान जारी भएको ९ वर्ष पुगेको अवसरमा सरकारले आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । संविधान दिवस मूल समारोह समितिले आयाेजना गर्ने विशेष समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली  लगायत विशिष्ट व्यक्ति उपस्थित हुने कार्यक्रम छ । साे समाराेहलाई संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ ।

दिवसका अवरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलील गायत कार्यक्रम हुँदैछन् । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

तत्कालीन राष्ट्रपति रामवरण यादवले ०७२ साल असोज ३ गते नेपालको संविधान जारी गर्नुभएकाे थियाे । संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ हुनुहुन्थ्याे । याे संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो ।

नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय नेपालको संविधानका मूलभूत विशेषता हुन् ।

संविधान दिवसकै अवसर पारेर राष्ट्रपति पाैडेलले मन्त्रिपरिषद्‌काे सिफारिसमा ६ सय ७० जना कैदीको बाँकी कैद सजाय मिनाहा गरिदिनुभएकाे छ ।

संविधान बनेकाे  ९ वर्ष बित्दा पनि कार्यान्वयनमा भने ढिलाइ भएकाे देखिन्छ । अहिलेसम्म माैलिक हक सम्बन्धी कानुन समेत निर्माण भएकाे छैन ।


0
Shares

प्रतिक्रिया दिनुहोस !