१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बाढी र पहिराेमा परी ज्यान गुमाउनेकाे संख्या २१७ पुग्याे, २८ जना अझै बेपत्ता

प्रकाशित मिति :  १५ आश्विन २०८१, मंगलवार ०८:४८


काठमाडौं । केही दिनअघिकाे अविरल वर्षापछि आएकाे बाढी, पहिराे र डुबानमा परी ज्यान गुमाउनेकाे संख्या २ सय १७ पुगेकाे छ ।

बाढी, पहिराे र डुबानमा परी १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयले जनाएकाे छ । बाढी, पहिराे र डुबानमा परी अझै २८ जना बेपत्ता छन् ।कैयाैंकाे सकुशल उद्धार गरिएकाे मन्त्रालयले जनाएकाे छ ।

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेका छन् । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि मन्त्रालयले जनाएकाे छ ।

साेमबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट प्रभावित जनताको तत्काल राहत तथा उद्धारका लागि विपद् व्यवस्थापन कोषमा १ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकाे छ । बाढी र पहिरोमा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र आजदेखि ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय  बैठकले गरेकाे छ ।

बाढी पहिरो पीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा मन्त्रीहरूको एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेकाे छ । खाेज, उद्धार, तत्काल राहत र घाइतेहरुकाे नि:शुल्क उपचारमा उच्च प्राथमिकता दिने, बाढी पहिराेबाट प्रभावित तथा विस्थापितहरुलाई तत्काल अस्थायी आवास, खाद्यान्न र सुरक्षा प्रबन्ध मिलाउने निर्णय पनि भएकाे छ । बाढी पहिराेमा परी गम्भीर घाइते हुनेहरु सबैकाे उपचारकाे व्यवस्था सरकारले मिलाउने र घाइतेहरुकाे उपचारमा कुनै कमी हुन नदिने निर्णय बैठकले गरेकाे छ ।


113
Shares

प्रतिक्रिया दिनुहोस !