यस्तो छ रोशी र सुनकोशीको वितण्डा
काठमाडौं । गत असोज ११ र १२ गतेको भीषण वर्षाको सबैभन्दा बढी प्रभाव काठमाडौं उपत्यका पछि काभ्रे, सिन्धुली र रामेछाप, ओखलढुंगा लगातयतका जिल्लालाई पर्यो । हुन त धादिङमा गुडिरहेका यातायात साधन पुरिँदा ठुलो मानवीय क्षति भयो । भूगोले र जनसङ्ख्याको हिसाबले वाग्मती, सुनकोशी र रोशी नदी कोरिडोरमा ठुलो क्षति भयो ।
रोशी र सुनकोशीको प्रभाव त्यसका तटीय क्षेत्रमा निक्कै ठुलो पर्यो । खास गरी रोशी खोल किनारमा अव्यवस्थित रूपले राखिएका क्रसर र ती क्रसरले गरेको अत्यधिक प्रकृतिको दोहनको कारण सो क्षेत्रमा ठुलो क्षति भयो ।
रोशी खोला किनारमा थुपारिएका क्रसरबाट निस्किएको माटोको ढिस्का बगाउँदा त्यसको प्रभाव रोशीमा मात्र सीमित रहेन त्यसको प्रभाव सुनकोशी नदीसम्म पनि पुग्यो । रोशीमा ४० वर्ष यताकै ठुलो बाढी आयो । त्यो बाढीमा क्रसरले निकालेर थुपारिएका माटोका पहाड मिसिँदा रोशीले उब्जाउ हुने फाँटहरू मरुभूमि बनायो । रोशी कोशी भन्दा पनि बढी उर्लियो ।
उर्लिएको रोशीले बीपी राजमार्गलाई छियाछिया बनायो । तटीय क्षेत्रका बस्तीहरू उखेलेर लग्यो । दुम्जाको कुशेश्वर महादेव मन्दिर क्षेत्रमा अकल्पनीय क्षति पुर्यायाे।
उर्लिएको सुनकोशीमा रोशी मिसिएपछि सुनकोशीले पनि रौद्र रूप नै लियो । उर्लिएको सुनकोसीको भेलले झोलुङ्गे पुल त के पक्की पुल पनि केही मिनेटमा नै रुखका पात बगाए जस्तै बगायो ।
सिन्धुलीको दुम्जा नजिकै रामेछापलाई जोड्ने खैरेनीघाटमा रहेको पक्की पुल उखेल्यो । रामेछापको पुरानो सित्खा बजारमा रहेको झोलुङ्गे पुललाई चहै चहै बनाएर लग्यो । बजारका पुराना घरहरू पनि खसाल्यो ।
झोलुङ्गे पुल बगाए पनि सित्खाको पक्की पुल भने धन्य बच्यो । जसले रामेछापलाई तत्कालको लागि बीपी राजमार्गमा जोड्ने आधार बनाएको छ ।
बाढीले मुलकाेट बजार छाेप्याे । खुर्काट बजार डुबायाे र घरहरु भत्कायाे ।
सित्खाको पक्की पुल त जोगियो । तर रामेछाप, ओखलढुङ्गा, सोलु, दोलखा लगायतका जिल्लालाई तराई र राजधानी जोड्ने खुर्कोटको पुलले सुनकोसीको पानीको भार थाम्न सकेन । खुर्कोटको पुल सुनकोशी नदीमा पौडी खेल्न पसेजस्तै झ्याम्म हामफाल्यो, नफर्कने गरी बग्यो ।
खुर्कोटको पुलको एकपट्टिको मेरुदण्ड भाँचियो । त्यो मेरुदण्ड पुलको होइन रामेछाप, दोलखा, ओखलढुङ्गा र सोलुका सर्वसाधारणको मेरुदण्ड भाँचिएको जस्तो भएको छ । अहिले ती क्षेत्रको राजधानीसँग सम्पर्क टुटेको छ । दशैंको मुखमा आउजाउ मात्र होइन दैनिक उपभोग्य सामान ल्याउन समेत समस्या भएको छ ।
खुर्काटबाट हुत्तिँदै गएकाे भेलले ओखलढुगा जाेड्ने पुल पनि बगायाे ।
सुनकोशी र रोशीको यति उग्र रूप नयाँ पुस्ताले त के पुराना पुस्ताले पनि कहिल्यै देखेका थिएनन् । यो विनाशले पुर्याएको क्षति कसरी सामना गर्ने र यसले पुर्याएको क्षतिले कस्तो प्रभाव पार्ला भन्ने कुरा आममानिसको सोचाइ भन्दा टाढाको विषय बनेको छ ।