८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

काठमाडौं–चरिकोट–मन्थली सडक पुनः अवरुद्ध, सडक खुलाउने प्रयास सुरु

प्रकाशित मिति :  १९ आश्विन २०८१, शनिबार ०९:५५


काठमाडौं । काठमाडौंबाट चरिकोट हुँदै रामेछापको मन्थली, ओखलढुङ्गा, सिन्धुली, खोटाङ, सोलुखुम्बु लगायत पूर्वको भोजपुरसम्म जाने वैकल्पिक सडक पुनः अवरुद्ध भएको छ ।

दोलखाको मालुखोला नजिक तामाकोशी नदी किनारमा पहिरिएर सडक झरेपछि शनिबार बिहानबाट यातायात साधन अवरुद्ध भएका छन् । वर्षाको कारण गलेको सडक माथिबाट झरेको पानीले गलेर पहिरिएको छ ।

बीपी राजमार्ग अवरुद्ध हुँदा बीपी मार्ग हुँदै पूर्व जाने साना यातायात साधनले यही मार्गलाई प्रयोग गर्दै आएका थिए । काठमाडौंबाट दोलालघाट, मुढे, चरिकोट हुँदै मन्थली निस्किएका सवारी साधन रामेछाप र सिन्धुलीको सिमानामा पर्ने सुनकोसी नदीको सित्खाबाट पुल तरेर बीपी मार्ग र मध्यपहाडी मार्ग हुँदै पूर्व जाने गरेका छन् ।

बीपी मार्ग बगाएपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रका सबै सवारी साधनहरूले यही मार्ग प्रयोग गर्दै आएका थिए ।

गत असोज १० गतेदेखि तीन दिनसम्मको भीषण वर्षाको कारण बीपी राजमार्ग क्षतविक्षत भएको छ । रामेछापलाई बीपी मार्गसँग जोड्ने खैरेनीघाट र खुर्कोटको पक्की पुल पनि बगाएको छ ।

चरिकोट–मन्थली सडकको पनि दोलखाको किर्नेटारमा तामाकोशी नदीले सडक कटान गरेको थियो । सो ठाउँमा खिम्ती जलविद्युत आयोजनको कम्पाउण्ड भित्रबाट अस्थायी रूपमा बाटो खोली सडक सञ्चालन गरिएकोमा पुन मालुखोलामा पहिरो गएको हो ।

 

पहिरो गएको ठाउँभन्दा माथि बाटो खोल्ने भाग भएकोले माथिबाट सडक खोल्ने विषयमा सडक डिभिजन कार्यालय दोलखासँग कुरा भइसकेको वाग्मती प्रदेश सभा सदस्य एवं वाग्मती प्रदेशको उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

डोजर प्रयोग गरेर काम गर्दा केही घण्टामा नै बाटो खोल्न सकिने उहाँले बताउनुभयो । ‘सडक डिभिजन कार्यालयसँग कुरा भएको छ, आज नै बाटो खुल्छ’, श्रेष्ठले भन्नुभयो ।

मालुखोलामा पहिरो गएपछि काठमाडौंबाट चरिकोट हुँदै मन्थली आउजाउ गर्ने यातायात साधनले दोलखाको मालु, सहरे, हावा, च्यामा हुँदै किर्नेटार निस्कने बाटो प्रयोग गर्न सक्ने पूर्वअरनिको यातायात प्रालि मन्थलीका प्रमुख सुवास फुयाँलले जानकारी दिनुभयो । सो सडक केही कच्ची र अलिकति घुमाउरो भएको भए पनि यात्राको लागि धेरै कठिन नभएको उहाँले बताउनुभयो ।


113
Shares

प्रतिक्रिया दिनुहोस !