८ पुष २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दोलखाको सडकमा पनि लाग्यो टाइमकार्ड, रामेछाप र ओखलढुङ्गावासीको आपत्ति

प्रकाशित मिति :  २२ आश्विन २०८१, मंगलवार ०९:४९


दोलखा । बीपीमार्गमा लगाइएको टाइमकार्डका कारण दिक्क भएका रामेछाप र ओखलढुङ्गावासीले अरनिको–पुष्पलाल राजमार्गमा पनि त्यो सास्ती खेप्नु पर्ने भएको छ ।

असोज १२ गतेको बाढीले बीपी मार्ग र सुनकोशीको पुल बगाएपछि दोलखा हुँदै चल्न लागेका रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बुलगायतका जिल्ला जाने सवारीसाधनलाई दोलखा प्रहरीले टाइमकार्ड लगाएको छ ।

चाडपर्वमा हुने भिडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको ट्राफिक प्रहरीले जनाएको भए पनि यसले यात्रुलाई सहजता होइन सो क्षेत्रका होटेल व्यवसायीलाई मात्रै लाभ हुने यात्रुहरूको भनाइ छ । ‘सात घण्टामा पार गरिने सडक यो टाइम कार्डले अब १० घण्टा लाग्ने भयो, जुन बाटो हिँडे पनि हामीले टाइमकार्डको मार खेप्नु पर्ने भयो’, रामेछापका नागरिक अगुवा जगन्नाथ दाहालले भन्नुभयो ।

अहिलेको टाइमकार्ड अनुसार यातायात साधन चलाउँदा अब मन्थलीबाट काठमाडौं पुग्न १० घण्टा लाग्ने पूर्व अरनिको यातायात प्रालि मन्थलीका प्रमुख सुवास फुयाँल बताउनुहुन्छ । यस अघि मन्थलीबाट काठमाडौँ जाने सवारी साधन सात घण्टामा काठमाडौँ पुग्दथे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट २२ किलोमिटर दुरी छिटोमा एक घण्टामा पार गर्न पाइने छ । त्यस्तै चरिकोट–किर्नेटार ३९ किलोमिटर दुरी १ घण्टा ३५ मिनेट अगाडि पार गर्न पाइने छैन । चरिकोट–जिरी को ५६ दुरी पार गर्न २ घण्टा १५ मिनेट समय पार गर्नुपर्ने छ ।

गत असोज ११ र १२ गतेको बाढी पहिरोले बीपी मार्गमा क्षति पुगेपछि काठमाडौंबाट पूर्व जाने अधिकांश साना सवारी साधनले यही बाटो प्रयोग गर्दै आएका छन् ।

विगतमा बीपी मार्गमा सिन्धुली र काभ्रेको प्रहरीले टाइमकार्ड लगाउँदा यातायात साधनहरू ठाउँ ठाउँमा रोकिने गरेका थिए । निर्धारित दुरी यातायात साधनले १५ देखि २० मिनेट अगाडि नै पार गर्ने हुँदा होटेलहरूमा लगेर रोक्ने र ती होटेलहरूमा चिया, खाजा खाने यात्रुलाई व्यवसायीले अस्वाभाविक रूपमा रकम लिने गरेको थिए । अब यो मार अरनिको–पुष्पलाल मार्गमा पनि खेप्नु पर्ने चिन्ता स्थानीयमा छ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !