३ मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीद्वारा दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण, पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान

प्रकाशित मिति :  ३ मंसिर २०८१, सोमबार १३:१७


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।

साेमबार मध्यान्ह ज्ञानेश्वरस्थित सानो गौचरण पुगेर प्रधानमन्त्री ओलीले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे । उहाँले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयाे ।

त्यसक्रममा प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगाना नेपालको संसदीय अभ्यासमा बेग्लै पहिचान र मान्यता राख्ने बहुआयामिक व्यक्तित्व भएको बताउनुभयो । नेपालको संसदीय अभ्यासमा बेग्लै प्रभाव छाड्न सफल भएकाले उहाँले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने उहाँले बताउनुभयाे ।प्रधानमन्त्री ओलीले ढुंगाना अत्यन्त मिलनसार, मृदुुभाषी, सरल र अशल मान्छे हुुनाका साथै सबैका कुुरा सुन्ने व्यक्तित्व हुनुुभएको बताउनुुभयो । ढुंगानामा मुलुकका लागि व्यवस्थित सोच पाइएकाे स्मरण गर्दै उहाँले त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको बताउनुभयो । प्रधानमन्त्री ओलीले ढुंगानाले देखाउनुभएको बाटोमा अघि बढ्न आफूहरु प्रतिबद्ध रहेकाे पनि बताउनुभयाे ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराई लगायत विभिन्न दलका नेता र विभिन्न क्षेत्रका व्यक्तिले पनि पूर्व सभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सानो गौचरणमा अहिले ढुंगानालाई श्रद्धाञ्जली दिन सर्वसाधारणको बाक्लो उपस्थिति छ । सानो गौचरणमा श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिनेछ । नेपाल सरकारले राजकीय सम्मानसाथ पूर्वसभामुख ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । उहाँकाे निधनकाे शाेकमा सरकारले आज सार्वजनिक बिदा पनि दिएकाे छ ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुंगानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियाे । त्यहाँबाट साेमबार बिहान उहाँकाे पार्थिक शरीर सानाे गाैचरण पुर्‍याइएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !