बसको ढोकाबाट खसेर दुई जनाको गयाे ज्यान
काठमाडौँ । बसको ढोकाबाट खसेर आज दुई जनाको ज्यान गएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ शेषमतीको लामबगरस्थित शान्तिटोल गेट नजिक बा४ख ७१११ नम्बरको बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गएको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार दुर्घटनामा नुवाकोट ककनी गाउँपालिका–५ बस्ने ५० वर्षीय सन्चबहादुर लामा र तादी गाउँपालिका–१ घर भई काठमाडौँ तारकेश्वर–८ लामबगर बस्ने ५८ वर्षीया सुन्तली ओझाको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा ज्यान गएको उहाँले जानकारी दिनुभयो ।
बसबाट खसेर घाइते भएका बसका सहचालकलाई उपचारका लागि राष्ट्रिय ट्रमासेन्टर पठाइएको प्रहरी नायब महानिरीक्षक कार्कीले बताउनुभयो । दुर्घटनापछि फरार रहेका बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
-रासस