दाङको देउखुरीमा तीर्थयात्री बोकेको गाडी दुर्घटना, दुई जनाको गयो ज्यान, १२ जना गम्भीर घाइते
काठमाडौं । दाङको देउखुरीमा सोमबार तीर्थयात्री बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना गम्भीर घाइते भएका छन् ।
कपिलवस्तुको चनौटाबाट सोमबार बिहान बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विंगर गाडी लमही नगरपालिका–९ लमही–कोहलपुर सडक खण्डको च्याउ खोलामा अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो । उनीहरू सत्सङ्गको धार्मिक यात्रामा हिँडेको स्थानीयले बताएका छन् ।
दुर्घटनामा शिवराज नगरपालिका–३ निवासी ६० वर्षीय फुलसी थारु र सोही स्थानका ४२ वर्षीय तिर्थी थारुको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालको शव गृहमा राखिएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गाडीमा १४ जना सवार थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।