११ पुष २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सहकारी ठगी काण्ड : कास्की जिल्ला अदालतमा रविको बयान सुरु

प्रकाशित मिति :  ११ पुष २०८१, बिहीबार १७:४०


काठमाडाैं । सूर्यदर्शन सहकारी ठगी काण्डमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएकाे छ ।

सूर्यदर्शन सहकारीमा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा बिहीबार जिल्ला अदालत कास्कीमा लामिछानेकाे बयान सुरु भएकाे हाे ।

साेही काण्डमा मुछिएकी लिला पछाईंको बयान सकिएलगत्तै लामिछानेको बयान सुरु भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयाे ।

पूर्वडीआईजी तथा गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको सोमबार र मंगलबार बयान भएको थियो । त्यसपछि लिलाको बयान सुरु भएकाे थियाे । लिलाकाे सकिएपछि लामिछानेकाे बयान थालिएकाे हाे ।

साे काण्डमा छवि, रवि र लिलासँगै रामबहादुर खनाल, सूर्यदर्शनका पूर्व सञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ र पूर्व सञ्चालक समिति उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाकी पूर्व सांसद् मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ । उनीहरुकाे पनि क्रमैसँग बयान लिइनेछ ।

कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार गरी ६३ जनाविरुद्ध जिल्ला सरकारी वकिलकाे कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरेक थियो ।

प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ ।


226
Shares

प्रतिक्रिया दिनुहोस !