कास्की जिल्ला अदालतमा रविको बयान सकियाे
काठमाडाैं । सहकारी ठगी काण्डमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएकाे छ ।
पाेखराकाे सूर्यदर्शन सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी दायर मुद्दामा जिल्ला अदालत कास्कीमा लामिछानेकाे बयान शुक्रबार सकिएकाे हाे ।
बिहीबार दिउँसोदेखि न्यायाधीश नितिज राईको इजलासमा उनको बयान सुरु भएको थियो । शुक्रबार अपरान्ह साढे ४ बजे लामिछानेकाे बयान सकिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयाे ।
साेही काण्डमा मुछिएकी लिला पछाईंको बयान सकिएलगत्तै लामिछानेको बयान सुरु भएको थियाे । त्यसअघि साेमबार र मंगलबार पूर्व डीआईजी तथा गोरखा मिडियाका सञ्चालक छविलाल जोशीको बयान भएको थियो । त्यसपछि लिलाको बयान सुरु भएकाे थियाे । लिलाकाे सकिएपछि लामिछानेकाे बयान थालिएकाे थियाे ।
साे काण्डमा छवि, रवि र लिलासँगै रामबहादुर खनाल, सूर्यदर्शनका पूर्व सञ्चालक समिति सदस्य कृष्ण गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ र पूर्व सञ्चालक समिति उपाध्यक्ष तथा गण्डकी प्रदेश सभाकी पूर्व सांसद् मीना गुरूङलाई अदालत उपस्थित गराइएको छ । उनीहरुकाे पनि क्रमैसँग बयान लिइनेछ ।
कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार गरी ६३ जनाविरुद्ध जिल्ला सरकारी वकिलकाे कार्यालयले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरेकाे थियो ।
प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेक बहस सुरु हुनेछ ।