दीपक थापा नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक बन्दै

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक बन्ने करिब निश्चित भएको छ ।
अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको हो । कुनै आकस्मिक परिवर्तन नभए थापा आजबाट नेपाल प्रहरीको प्रमुख बन्नु हुने छ ।
महानिरीक्षक वसन्तबहादुर कुँवर अवकाशमा जाने भएपछि आजदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदै छ । आज बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्ने करिब निश्चित छ । एआइजीमध्ये ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा थापा प्रहरी प्रमुख बन्न लाग्नु भएको हो ।
थापासँगै एआइजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा छन् । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले प्रहरीको महानिरीक्षक नियुक्त गर्छ ।
थापा अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रमुख हुनुहुन्छ । एआइजीमध्ये थापा वरिष्ठतम हुनुहुन्छ । यही प्रहरी ऐन कायम रहेमा थापाको कार्यकाल करिब ६ महिनाको हुनेछ । त्यस पछि उमेर हदका कारण उहाँको अवकाश हुने छ ।