देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेकाे छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश स्थिरता, स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढेको बताउनुभएको छ ।
नेकपा एमालेले झापाको दमकमा आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्दै ओलीले ढुङ्गा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्चाए पनि उनीहरूलाई जनताले नपत्याएका बताउनुभयो । ‘देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ, आन्दोलनका नाममा बैङ्क डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले निर्माण कार्य रोकिएका र बन्न बाँकी रहेका बाटा र आयोजनाहरू अब अगाडि बढ्ने बताउनुभयो । आगामी बजेट र नीति तथा कार्यक्रममा नयाँ ढङ्गले अगाडि बढाउने उचित नीति र कार्यक्रम लिएर आउने उहाँले जानकारी दिनुभयो । उहाँले कृषिको आधुनिकीकरण र विस्तारका लागि प्राथमिकता दिँदै उद्यमशीलताको विकास गर्न सरकारले प्राथमिकता दिने बताउनुभयो । ‘हामीले अध्यादेश हुँदै विभिन्न पाँच महत्त्वपूर्ण कानुन ल्याएका छौँ, भूमिसम्बन्धी कानुन पनि चाँडै आउँछ, यसप्रति निजी क्षेत्र र सबैको सकारात्मक धारणा रहेको छ, घाटामा रहेको अर्थतन्त्र उकालो लाग्न थालेको छ’, उहाँले भन्नुभयो ।
भूमिहीन सुकुम्वासीहरूका समस्या समाधान गर्न अब आउने संसद्को अधिवेशनको सुरुमै कानुन ल्याइने उहाँले जानकारी दिनुभयो । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी दत्तचित्त भएर लाग्नेछौँ, एमालेविनाको नेपालको सपना देख्नेहरूको देशद्रोही सपना पूरा हुँदैन, एमाले झन् ठुलो भएर विजयी भएर आउनेछ, जनतामा आधारित यो पार्टी देशको भविष्य हो, एमाले असफल भए देश असफल हुन्छ’, उहाँले भन्नुभयो ।
एमालेले वैशाख ११ गते (लोकतन्त्र दिवस) का दिन काठमाडौँमा युवा महोत्सव आयोजना गर्ने बताउँदै उहाँले ४० वर्षमुनिका युवालाई त्यस दिन काठमाडौँ आएर राजतन्त्र हटाएर जनताले जितेको दिनको उत्सव मनाउन आव्हान गर्नुभयो । ‘एमालेको साथमा युवा छैनन्, एमालेका युवाहरू सिद्धिए भन्नेहरूलाई जवाफ दिन हामीले यो कार्यक्रम गरेका छौँ, म चुनौतीका साथ भन्छु, अरू कुनै पार्टीले यति धेरै युवाहरूलाई भेला पार्न सक्दैन’, उहाँले भन्नुभयो ।
एमालेका उपाध्यक्ष गुरु बराल, सचिव योगेश भट्टराईलगायत सहभागी कार्यक्रममा कोशी प्रदेश इञ्चार्ज शेरधन राई, प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतले सम्बोधन गर्नुभएको थियो ।
साेही कार्क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्ला चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गर्नुभएको हो । राई भूपू सैनिक आवासीय माविका प्रिन्सिपलसमेत हुनुहुन्छ ।