१५ बैशाख २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशमा रचनात्मक ढङ्गले विकासको काम गर्नुपर्छ, युवा स्वदेशमा नै व्यावसायिकतामा लाग्नु पर्छ : प्रधानमन्त्री

प्रकाशित मिति :  ३१ चैत्र २०८१, आईतवार १९:५१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको ध्यान विकास निर्माणको काममा केन्द्रित भएको बताउनुभएको छ ।

आइतबार झापाको गौरादह नगर अस्पताल शिलान्यास गर्दै ओलीले देशमा रचनात्मक हिसाबले विकासको काम गर्नुपर्ने बताउनुभयो । मुलुकलाई रचनात्मक कामबाट विकसित गराउने अभियानमा सरकार रहेकाले युवाहरूलाई स्वदेशमै व्यवसायिकता र रोजगारीमा लाग्न उहाँले आग्रह गर्नुभयो । सूचना र प्रविधिको उपयोगबाट सरकार हरेक क्षेत्रमा आधारभूत सेवा उपलब्ध गराउन क्रियाशील रहेको बताउनुभयो ।

गौरादह नगरपालिका वडा न १ स्थित चौतु चोकमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले नयाँ निर्माण हुने अस्पतालले स्थानीयवासीको साथै छिमेकी भारतका जनताको स्वास्थ्य उपचारमा समेत लाभ दिन सक्ने बताउनुभयो । उहाँले आवश्यकताका आधारमा अस्पतालको सेवा विस्तार गर्दै जान सकिने जानकारी दिनुभयो ।

 

अस्पताल निर्माणका लागि कुल दुई बिगाहा जग्गामा १२ करोड ५९ लाख ७० हजारको लागत स्टमेट तयार भएको छ । भवन २०८३ माघ १४ भित्र बन्ने गरी जे एन्ड जे निर्माण सेवासँग सम्झौता गरिएको छ ।

प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकाल २०७५ सालमा सबै स्थानीय तहमा १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने घोषणा भएकोमा जग्गा प्राप्तिमा ढिलाइका कारण गौरादहमा अस्पताल निर्माण सुरु हुन सकेको थिएन ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायत उपस्थित हुनुहुन्थ्यो ।

 


226
Shares

प्रतिक्रिया दिनुहोस !