मोलुङ युवाहरुले देखाए नमुना गाउँ सभा अभ्यास
मोलुङ । सभा हलको ढोकामा कडा सुरक्षा छ । जनप्रतिनिधी र गाउँ सभा सदस्यहरु लामबद्ध छन् । हल प्रवेशका लागि आफनो परिचय र पहिचान चाहिन्छ । सबै व्यक्ति सभा हलमा जान पाउँदैनन् । सभाहल भित्र तोकिए अनुसारको आफनो स्थानमा बस्नुपर्छ । तोकेको स्थान भन्दा फरक स्थानमा बसे तत्काल मर्यादापालकले नियममा ल्याउन अग्रसर हुन्छन् ।
अगाडी मञ्चमा पालिका प्रमुख , उपप्रमुख र सचिब प्रमुख प्रशासकिय अधिकृत छन् । मञ्चको अघिल्लो रो मा गाउँपालिकाका १ देखि ८ सबै वडाका वडा अध्यक्ष , वडा सदस्यहरु छन् ।
सभामा गाउपालिका प्रमुखले आगामी वर्षको लागि युवा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् । सभाका सदस्य त्यसलाई सुनिरहेका छन् । यसलाई हेर्दा लाग्थ्यो साच्चीकै यहाँ गाउँपालिकाको सभा चलिरहेको छ । तर, यो दृष्य हो, ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा युवाले सञ्चालन गरेको नमुना युवा संसद कार्यक्रम अन्तर्गत नमुना गाउँ सभा अभ्यास कार्यक्रमको ।
युवाहरुले राजनीतिक नेतृत्वलाई युवाका मुद्दा प्रति सचेत गराउन र युवालाई संसदीय अभ्यासमा लैजान युवा संसद सञ्चालन गरिएको मोलुङ स्टार युवा क्लवका सचिव एवं कार्यक्रमका प्रशिक्षक गोपाल नेपालले जानकारी दिए । गत बर्ष मोलुङ गाउँपालिका द्वारा आयोजित उक्त कार्यक्रम भने पटक भने बिगत कै निरन्तरता स्वरुप मोलुङ स्टार युवा क्लव द्वारा नमुना युवा संसद नमुना गाउँ सभा अभ्यास कार्यक्रम सञ्चालन गरिएको बताए ।
उनले गाउँपालिकाका प्रत्येक वडाबाट ३÷३ जना, र गाउँपालिकाबाट ६ जना र मोलुङ स्टार युवा क्लवको तर्फबाट ८ जना गरेर ३८ जना युवा सहभागि गराई चार दिनसम्म उनीहरुलाई संसदीय प्रक्रिया, ज्ञानको बारेमा जानकारी दिइ नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताए ।
युवाले सञ्चालन गरेको नमूना युवा सांसद अभ्यास मोलुङ गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले उद्घाटन गर्नु भएको थियो भने समापन संविधान सभा सदस्य मा. हर्कबोल राई उपस्थित हुनु भएको थियो। कार्यक्रममस गाउँपालिका उपाध्यक्ष , पुर्ब गाउँ पालिका अध्यक्ष, केहि वडाका वडा अध्यक्ष अध्यक्ष, सदस्य, राष्ट्रसेवक कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
युवाले सभा भित्रको गरिमा र महत्व सिकाएको भन्दै अब गाउँपालिकामा सञ्चालन हुने गाउँ सभामा पनि त्यो सिको आत्मासाथ गरिने मोलुङ गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष कमल बानियाँले बताए ।
‘हामी हाम्रो सभामा त्यति जिम्मेवार भएको म देख्दिन’, समापन शत्रमा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले बताइन् भने, ‘युवा सांसदले त्यो जिम्मेवारी गर्न सिकाए। चार दिनसम्म युवा सांसद संगै रहेका वडा नम्वर २ का अध्यक्ष टंक बहादुर कार्कीले सभा भित्रको सभ्यता, जिम्मेवारी बोध, प्रक्रियाको बारेमा स्पष्ट पारिदिएको बताए। महत्त्वपूर्ण कार्यक्रम संचालन गर्न गाउँपालिकाले सहयोग गर्नु पर्ने बताए ।
संसदको भूमिकामा रहेका युवाले संसदीय अभ्यासमार्फत युवाका मुद्दालाई स्थानीय तहबाट स्थापित गर्ने दबाब दिएको बताएका छन्। आफनो आफनो जिम्मेवारी बहन गरेर सभा संचालन गर्यौ उपाध्यक्ष तथा गाउँपालिका उप प्रमुखको जिम्मेवारी बहन गरेकी युवा जुनु कार्किले भनिन्, जिम्मेवारी तोकिएमा छुट्टै मनोविज्ञान आउँदो रहेछ। यो अवस्थामा नेतृत्व विकास गर्ने समेत अवसर पाएको उनले बताए ।
गाउँपालिका प्रमुख र उपप्रमुख भूमिका दुबैमा महिला सहभागिता देखेर खुसि प्रकट गर्दै गाउँपालिका उपाध्यक्ष उर्मिला खतिवडाले उप त चुप भन्ने हरुलाई युवाले गतिलो प्रहार गर्दै नेतृत्वमा लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण हुनुपर्ने बताइन ।
कार्यक्रम समापन गर्दै संविधान सभा सदस्य हर्कबोल राइले नमुना गाउँ सभा संचालन गर्ने युवाहरुको र मोलुङ स्टार युवा क्लबको प्रशंसा गर्दै युवाले समग्र नेतृत्व विकास र क्षमता विकास गरी अध्ययनको दायरा फराकिलो बनाउदै अगाडि बढेमा भबिष्यमा कुशल राजनितिज्ञ, कुशल प्रशासक बन्ने कुरामा जोड दिए ।