७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सडक मानव खोज्दै मानव सेवा आश्रम

प्रकाशित मिति :  १९ माघ २०७७, सोमबार ०६:२६


काठमाडौं । सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउने सरकारको अभियानलाई सफल बनाउन मानव सेवा आश्रमका अभियान्ता जुटेका छन् ।

अभियान्ताले देशभरिका सडकमा रहेका यस्ता मानिसको उद्दार गरी आश्रममा राख्ने काम गरिरहेका छन् । सोही क्रममा आश्रमका पदाधिकारी र सहयोगी रामेछापको सदरमुकाम मन्थली पुगेका छन् ।

सहयोगापेक्षी (वेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन) सडक आश्रित मानवको राष्ट्रिय उद्दार कार्यक्रम अन्तर्गत पुस ७ गते काठमाडौंबाट निस्किएको टोली देशका विभिन्न जिल्ला घुम्दै शनिबार साँझ मन्थली पुगेको हो ।

मन्थली पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाँईको नेतृत्वमा मन्थली बजारमा सडक मानवको खोजी कार्य गरेको थियो । मन्थलीको देवकोटा चोक, बसपार्क, हाटेचौर लगायतको क्षेत्रमा खोजी गर्दा एकजना २८ वर्षीय पुरुष फेला पारेको टोलीले जनाएको छ ।

मानव सेवा आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाको नेतृत्वमा मेची–महाकाली यात्रामा निस्केको टोलीमा २५ जना सहयोगी रहेका छन् । तिमल्सिनाले सहयोगापेक्षीको उद्दारका साथै सडकमा मानिस छाड्ने परिवारका सदस्यलाई समेत कारबाहीको दायरामा ल्याउने गरी आफूहरुले काम गरेको बताउनुभयो ।

रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले आश्रमको अभियान मानवीय सेवाभावको भएको बताउनुभयो । उहाँले यस्ता मानिसको खोजी र उद्दारको लागि आफू पनि लाग्ने बताउनुभयो ।

मेची– महाकाली अभियामा संस्थाले हालसम्म ६ सय ३० जना सडक मानवको उद्दार गरेको छ । अभियानको समापन माघ १६ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !