चीन-नेपाल मैत्री औद्योगिक पार्कको पीडीएको अन्तिम मस्यौदा तयार गर्न वार्ता समिति गठन
काठमाडाैं । झापाकाे दमकस्थित चीन-नेपाल मैत्री औद्योगिक पार्कको परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न वार्ता समिति गठन भएकाे छ ।
शुक्रबार बसेकाे लगानी बाेर्डकाे ५५औं बैठकले बोर्डका प्रमुख कार्यकारी अधिकृत बोर्डका सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेकाे हाे ।
‘दमकस्थित चीन-नेपाल मैत्री औद्योगिक पार्कको सम्बन्धमा विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता (पीडीए) को अन्तिम मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ’-बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
लगानी बोर्डको २०७६ साउन १७ गते बसेको बैठकले चीनको लगानीमा औद्योगिक पार्क निर्माण गर्ने निर्णय गरेको थियो ।
नेपालकै ठूलो र दक्षिण एसियाकै नमुना हुने भनिएको साे पार्कको एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधामन्त्री हुँदा ०७७ फागुन १६ गते शिलान्यास गर्नुभएकाे थियाे । तर एमालेकाे सरकार ढलेपछि साे पार्क निर्माण कार्य अगाडि बढ्न सकेकाे छैन ।
चीन सरकारको सहयोगमा झापाको दमक नगरपालिका, गौरादह नगरपालिका र कमल गाउँपालिकाकाे संगमस्थल झर्कामा २२ सय बिघा जग्गामा निर्माण हुने साे पार्ककाे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेकाे छ ।
चीनको महत्वाकांक्षी योजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत निर्माण हुने औद्योगिक पार्ककाे निर्माण र सञ्चालनको जिम्मा चिनियाँ कम्पनी ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोईन्ट कन्स्ट्रक्सन कम्पनीलाई दिइएकाे थियाे । पहिलो चरणमा सय वटा उद्योग स्थापना गर्न ६४ अर्ब लगानी स्वीकृत पनि भइसकेकाे छ ।