४ मंसिर २०८१, मंगलवार
  • हाम्रो बारेमा
  • विज्ञापन

सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन हुदैन – केपी ओली

प्रकाशित मिति :  ८ पुष २०८०, आईतवार १०:०२


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थको लागि भू-राजनीतिक सम्बन्ध बिगार्नु नहुने बताउनुभएको छ ।

नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले भू-राजनीतिक सम्बन्ध कुनै व्यक्ति वा सत्ता केन्द्रित नभएर देश र जनताको हितमा केन्द्रित हुनु पर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेती जलविद्युत आयोजना चीनलाई दिँदा भारत रिसाएर बिजुली किन्दैन भनि दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै ओलीले यस्ता अभिव्यक्ति नेपालको असंलग्न राष्ट्र नीतिको विपरीत रहेको बताउनुभयो ।

नेपालको राजनीति र विकास कतैबाट पनि प्रभावित हुनुनहुने ओलीले बताउनुभयो । नेपालको विकासमा कसैले पनि हस्तक्षेप गर्नु नहुने र सत्तामा बस्नेहरू कतैबाट पनि प्रभावित हुन नहुने ओलीको भनाइ छ ।

नेपाल र नेपालीको हित हुने खालको सहयोग जसले बढी दिन्छ त्यसबाट लिनु पर्ने उहाँले बताउनुभयो । ‘हाम्रो विकास हामीले निर्बाध ढङ्गले गर्न पाउनुपर्छ, बिरालो कालो होस् कि, सेतो होस्, मुसा मार्ने हुनुपर्छ’ ओलीले भन्नुभयो ।

भारत, चीन वा अरू कुनै पनि मुलुकले नेपाल र नेपालीको हित हुने गरी गरेको सहयोग लिनु पर्ने उहाँले बताउनुभयो । नेपालको हित हुने र नेपालको प्राथमिकतामा रहेका सबै खालको सहयोग लिनु पर्नेमा उहाँले जोड दिनुभयो ।

ओलीले छिमेकीले चित्त दुखाउँछ कि दुखाउँदैन भनेर सत्ता केन्द्रित भएर सोच्नु नहुने बताउनुभयो । नेपाल सार्वभौमसत्ता सम्पन्न असंलग्न नीति बोकेको मुलुक भएकोले सबैसँगको सम्बन्ध पनि असंलग्न हुनु पर्नेमा उहाँले जोड दिनुभयो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !