प्रभु साह नेतृत्वको ‘आमजनता पार्टी’का नेताहरु धमाधम पार्टी परित्याग गर्दै
काठमाडौं । प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य लगायतका नेताहरू सो पार्टी पार्टी परित्याग गर्नुभएको छ ।
सो पार्टीका केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला इञ्चार्ज दीपक रानाभाट, केन्द्रीय सदस्य एवं सर्लाही जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाईँ र केन्द्रीय सदस्य नारायण कार्कीले सो पार्टी परित्या गर्नुभएको छ ।
त्यस्तै मधेस प्रदेशका कार्यसमितिका सदस्य सिताराम न्यौपाने, कालुमान लोप्चन र राजु लोप्चनले पनि पार्टी परित्याग गर्नुभएको छ ।
त्यस्तै सर्लाही जिल्ला उपाध्यक्ष सुरेश राय यादव, गङ्गा भण्डारी, सदस्यहरू हरि सापकोटा, चन्द्रबहादुर बोटे, सिताराम मण्डलले पनि सो पार्टी परित्याग गर्नुभएको छ ।
आमजनता पार्टीले आफ्नो लक्ष र उद्देश्य अनुसार काम नगरेकोले सो पार्टी छाडेको उहाँहरूले बताउनुभएको छ । सो पार्टी देशमा भएको भ्रष्टाचार र कुशासन अन्त्य गर्न तथा भुईँ मान्छेको आवाज उठाउन बनेकोमा पार्टी नेतृत्व त्यस विपरीत लागेको उहाँहरूको आरोप छ ।
पार्टीका अध्यक्षले परिवारवाद, नातावाद, जातिवादलाई अङ्गीकार गरी रौतहट जिल्लाको मौलापुरलाई राजनीतिक केन्द्र बनाई अन्य जिल्लाका पदाधिकारीहरूलाई उपेक्षित गर्ने र पार्टीको गतिविधिलाई केन्द्रिय अध्यक्ष प्रभु साहले आफ्नो इच्छाले मनोमानी रूपले कार्य सम्पादन गर्दै आउनुभएकोले पार्टी छाड्नु परको उहाँहरूले प्रेस विज्ञप्ति मार्फत जनाकारी दिनुभएको छ । पछिल्लो समय पार्टीले लिएको देश र जनताको अहितका गतिविधि प्रति निरन्तर फरक मत रहँदै आएकोमा फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता कारण देश र जनताको पक्षमा आफूहरूको बोलिलाई निरन्तर दबाउने कार्य भएको उहाँहरूको आरोप छ ।
त्यस कारण आम जनता पार्टीले मुलुकलाई निकास दिन नसक्ने निष्कर्ष सहित आमजनता पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उहाँहरूले जनाउनुभएको छ ।