२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्छ : डा.कोइराला

प्रकाशित मिति :  १७ चैत्र २०८०, शनिबार १३:२९


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाउन भूराजनीतिक खेल खेलेको बताउनुभएको छ ।

साथै एमालेलाई साथमा लिएर संक्रमणकालिन न्यायसम्बन्धी(टीआरसी) विधेयक पारित गराउन खोजेको पनि उहाँले बताउनुभयो । दाहालले देखाएको कोशी निर्वाचन र कांग्रेस महासमिति बैठकमा प्रयोग भएको ‘जनयुद्ध’ शब्द एवं ०८४ को निर्वाचन एक्लै लड्ने प्रस्ताव कारण नभएर भूराजनीतिक खेल भइरहेको दाबी समेत कोइरालले गर्नु भयो ।

‘उपसभापतिको प्रतिवेदनमा जनयुद्ध शब्द लेखिएको थियो । त्यसको विरोध प्रचण्डजीले गर्नुभयो । र महामन्त्रीको प्रतिवेदनमा उल्लेख ०८४ को चुनाव हामी एक्लैले लड्ने कुराको पनि विरोध गर्नुभयो । महासमिति बैठकमा प्रस्तुत भएका प्रतिवेदन नेपाली कांग्रेसको हो । प्रचण्डजीले कांग्रेसको प्रतिवेदन माओवादीले लेखिदेओस भन्ठान्नुभएको थियो होला,’ उहाँले भन्नुभयो, ‘मलाई लाग्दैन यि कारणले उहाँ कांग्रेस छाडेर एमालेसित जानुभएको हो । यसमा भूराजनीतिक परिस्थिति प्रमुख हो ।

सत्य निरुपण तथा मेलमिलापमा कांग्रेस लचिलो छ तर एमाले अप्ठ्यारो भएको छ । टीआरसी विधेयक पास नभए अप्ठ्यारोमा पर्छु भन्ने लागेको हुनसक्छ उहाँलाई ।’

शनिबार काठमाडौंमा आयोजित वीपी स्मृती सामुदायिक सहकारी अस्पतालको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गरेका कोइरालाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७९’ –टीआरसी विधेयक पास गराउन एमालेको समर्थनका लागि दाहालले कांग्रेससँगको तत्कालिन गठबन्धन फुटाएको बताउनु भयो ।

उहाँले त्यो बाहेक भुराजनीतिक कारण पनि रहेको भन्दै टीआरसी विधेयकमा अब कांग्रेस लचिलो नहुने बताउनुभयो । टीआरसी विधेयकमा एमालेले अड्काएको हलो अब कांग्रेसले जोत्ने कोइरालाले स्पष्ट पारे ।

‘कांग्रेस सर्वोच्च अदालतले दिएको निर्देशनलाई पालना गर्छ । कांग्रेस अन्तर्राष्ट्रिय मानवअधिकारसँग सम्बन्धित संघसंस्थाको न्यूनतम मापदण्डलाई लिएर अघि बढ्छ । पीडितमैत्री विधेयक बन्नुपर्ने कांग्रेसको मान्यता छ । यी कुरा पूरा नभए जतिसुकै संसदबाट ऐन पास भएर आए भनेपनि त्यो ऐन लागु हुन सक्दैन’, कोइरालाले चेतावनी दिनुभयो ।

स्थानीय चुनावमा माओवादीसँग गठबन्धन गर्दा कांग्रेसलाई घाटा भएको बताएका नेता डा.कोइरालाले अब कांग्रेस कुनै गठबन्धन गरेर चुनाब नलड्ने दाबी गर्नुभयो । साथै उहाँले देश र कांग्रेसको हालत दुवै ठिक नभएको टिप्पणी पनि गर्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता अर्जुननरसिंह केसीले देशमा अराजकता बढेको बताउनुभयो । उनले सरकार सरकारसँग नचलेको र अराजकता बढेको बताए । कार्यक्रममा सांसद प्रदिप पौडेल, पूर्वन्यायाधीश बाबुराम रेग्मी, डा.केदारनरसिंह केसीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !