३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नयाँ वर्ष २०८१ आजदेखि सुरु, हर्षोल्लाससाथ मनाइँदै

प्रकाशित मिति :  13 April, 2024 7:40 am


काठमाडौं । नयाँ वर्ष विक्रम संवत् २०८१ साल आजदेखि सुरु भएको छ ।

०८१ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन शुभकामना आदानप्रदान गरी मनाइन्‍छ । हामीले ०८० साललाई बिदाई गरेर ०८१ साललाई स्वागत गरेका छौं ।

विक्रम संवत हिन्दू पञ्चांगमा आधारित पात्रो हो । जुन प्राचीन हिन्दू परम्परा, वैदिक समय र सूर्यसँग सम्बन्धित रहेको मानिन्छ । सूर्य मीन राशीबाट मेष राशीमा प्रवेश गर्ने वैशाख संक्रान्तिका दिन नयाँ वर्ष मनाउने गरिन्छ ।

नयाँ वर्षको पहिलो दिन नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता-असफलता मूल्यांकन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं संकल्प गर्छन् ।

आज बिहानै नुहाउने, घरकोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगती तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

नयाँ वर्षकाे अवसर पशुपति नाथ लगायत देशभरका विभिन्न मन्दिरमा भक्तजनकाे घुइँचाे लाग्ने गर्छ । नयाँ वर्ष मनाउन देशका मुख्य पर्यटकीय स्थल भरिभराउ भएका छन् । नयाँ वर्षमा देशका पर्यटकीय स्थलमा आन्तरिक र बाह्य पर्यटकाे घुइँचाे लाग्ने गर्छ ।

विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।

यस अवसरमा सनराइज खबर परिवार विक्रम संवत् मनाउनेहरु तथा सम्पूर्ण नेपाली जनमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछ । नेपाली जनलाई २०८१ साल नयाँ युग बोकेर आओस्, प्रगति, समृद्धि र उन्नति बोकेर आओस् । समृद्ध नेपाल, सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा हाेस् । साे अभियान पूरा गर्न हरेक नेपाली नागरिकले योगदान गरौं ।

०८१ मा सकारात्मक बनौं, रचनात्मक बनौं । सकारात्मक र रचनात्मक विचारले मात्र कुनै पनि देश, समाज र नागरिकको जीवन सफल हुन्छ भन्ने महान मन्त्र आत्मसात गरौं ।

नयाँ वर्षमा हरेक नागरिकले आआफ्नो जीवनमा आशा र विश्वाश साथ एउटा एउटा प्रण गरौं, एउटा एउटा सार्थक लक्ष्य निर्धारण गरौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सनराइज खबर प्रण गर्दछ – हामी सकारात्मक समाचार दिनेछौं, रचनात्मक विचार फैलाउनेछौं ।


0
Shares

प्रतिक्रिया दिनुहोस !